मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

मेरो वडाको मत नगरकै लागि निर्णायक : वीरबहादुर पाख्रिन

मेरो वडाको मत नगरकै लागि निर्णायक : वीरबहादुर पाख्रिन


पूर्वी चितवनको रत्ननगर नगरपालिका–१२ स्थित जिरौनाका ५३ वर्षीय वीरबहादुर पाख्रिन सो क्षेत्रका आधारस्तम्भ हुन् । स्थानीय जनतामाझ सारथिका रुपमा रहेका पाख्रिन साविक रत्ननगर ९ र ११ समायोजन भई बनेको १२ नं वडामा कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार हुन् । आफू स्वयं जनजाति रहेको र जनजातिकै बाहुल्यता रहेको वडा भएकाले उनी जनजातिका भरोशा र आशाका केन्द्र पनि मानिन्छन् । उनी ०५४ को स्थानीय निर्वाचनमा पनि साविक रत्ननगर–११ बाट वडाअध्यक्षमा विजयी बनेका उनी पार्टी पंक्तिमा पनि विश्वासिला कार्यकर्ता मानिन्छन् । सोही कारण दुई दशकपश्चात् हुन लागेको स्थानीय निर्वाचनमा पनि उनले नै निरन्तरता पाएका हुन् । 
 
उनको जीवनसंघर्षका कथाव्यथा पनि लामो छ । काभ्रेबाट ०३० सालमा चितवन आएका उनलाई १० वर्षको उमेरदेखि नै ठूलीआमाले धर्मपुत्रका रुपमा संरक्षण गरेकी हुन् । न्यायपूर्ण र समतामूलक समाजका लागि प्रतिबद्ध उनी कांग्रेस राजनीतिमा भने महत्वपूर्ण जिम्मेवारीमा रहेनन् । पञ्चकन्या माविमा अध्ययनताका नेविसंघको राजनीतिमा लागेका उनी कांग्रेसको क्षेत्रीय प्रतिनिधि र क्षेत्रीय सदस्यमा रुपमा प्रतिनिधित्व गरेका छन् । पञ्चकन्या सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र सल्लाहकार समिति सदस्यको जिम्मेवारी निभाइसकेका उनको नेतृत्वमा वनले निकै प्रगति गरेको थियो । विभिन्न संघसंस्थामा आवद्ध रहेर राजनीति, समाजसेवा र व्यापारमा संलग्न हुँदै आएका जिरौनाका विश्वासिला नेता पाख्रिनसँग स्थानीय निर्वाचनको सन्दर्भमा हिमालय खबरका नेपाल संयोजक केशव भट्टराईले गरेको संक्षिप्त कुराकानी– 
 
१) २० वर्षअघिको स्थानीय निर्वाचनमा विजयी हुनुभयो । फेरि तपाईंकै निरन्तरता किन ? 
 
–बीस वर्षअघि र अहिलेको स्थानीय निर्वाचन स्वरुप र सारमै निकै अन्तर छ । किनभने, पहिलो निर्वाचनमा चुनौती बढी थिए । विकासको पूर्वाधारको सुरूवात नै भएको थिएन । स्थानीयवासीसँग हातेमालो गरेर विकास निर्माणका काम गर्दै गयौँ । अहिलेको निर्वाचनले जनतालाई अधिकारसम्पन्न बनाउन र विकासका गतिविधिको पहुँचसमेत वडामै हुने भएकाले मैले थप जिम्मेवारीका साथ वडालाई सुसम्पन्न बनाउन वडाअध्यक्षको उम्मेदवार बनेको हुँ । यसमा मेरो निहीत स्वार्थ केही पनि छैन । मात्र वडावासीको समस्या हटाउन यहाँका दाजुभाइ दिदीबहिनीले मेरै नेतृत्व खोज्नुभएको छ । त्यो जिम्मेवारीलाई इमान्दारिताका साथ पूरा गर्न म प्रतिबद्ध पनि छु । 
 
२) घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ । चुनावी चहलपहल कत्तिको छ ? 
 
–घरदैलो कार्यक्रमको सुरूवात तीव्ररुपमा भइरहेको छ । मतदाताले अन्यन्तै सकारात्मक कोणबाट हेर्नुभएको छ । यहीँ माटोमा हुर्केर सबैको सुख–दुःखमा सहभागी हुँदै आएको नाताले म उम्मेदवारका रुपमा मतदातामाझ प्रस्तुत हुँदा अत्यन्त उत्साह छाएको छ । चुनावी माहोल वडावासीका घरघरमा छाइसकेको छ । घरघरमा देखिएको झण्डाले पनि यसको पुष्टि गर्दछ । मतदाताले मतदान गर्न आतुर रहेको तपाईंले यहाँको वातावरणबाटै देख्नुभएकै छ । 
 
२) मतदाताको अपेक्षा कस्तो छ ? 
 
–अहिले मतदाता सचेत छन् । आफूले रोजेको र खोजेको उम्मेदवारलाई मत हाल्न उनीहरु तयारी अवस्थामा छन् । मतदाताले विकासप्रेमी, वडाको परिवर्तन ल्याउन सक्ने र उर्जाशील व्यक्तिलाई मतदान गर्ने र त्यो क्षमता र दक्षता मसँग देखेको प्रतिक्रिया पाएँ । जनजातिको बाहुल्यता रहेको क्षेत्र र कांग्रेसको पकड क्षेत्र पनि भएकाले मतदाताले अहिले अपेक्षाभन्दा पनि भोट हाल्न हतारमा छन् । वडाको समग्र समस्याबारे मलाई अवगत नै छ । विकास निर्माण, सडक, ढल निकास, गुम्बा, मठमन्दिर जीर्णोदार र सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्ने अपेक्षा आएका छन् । म उनीहरुको अपेक्षा पूरा गर्न सदैव तत्पर छु । 
 
३) वडावासीका लागि के कस्ता योगदान गर्नुभएको छ ? 
 
–यहाँको विकास निर्माण, शैक्षिक उन्नयन र सामाजिक विकासमा म प्रतिनिधि हुँदै गर्दा र नहुँदा पनि योगदान गर्दै आएको छु । मैले गरेका सामाजिक गतिविधि मैलेभन्दा पनि वडावासीलाई बढी जानकार छ । किनभने, म आफ्नो अर्को भनेर विभेद गर्दिन । सबैसँग हातेमालो गरी बाटोघाटो र स्कुल बनाउन सहयोग गरेको छु । मानवीय, आर्थिक तथा सामाजिक सहयोगका निम्ति म उदार रहँदै आएको सबैलाई सर्वविदितै छ । 
 
४) चुनावी प्रतिस्पर्धा कस्तो छ ? जित्ने आधार के छ ? 
 
–जीवनको पाँच दशकभन्दा बढीको दौरानमा आजसम्म मैले कसैको चित्त दुखाएको छैन । गाउँलेको गाह्रो–साह्रोमा म कहिल्यै पनि पछाडि परेको छैन । यसकारण मलाई गर्व लाग्छ कि सबैसँगको आत्मीय र पारिवारिक सम्बन्धले मलाई अझै केही योगदान गर्ने ऊर्जा मिलेको छ । पार्टीले पुनः मेरो मूल्यांकन गरी उम्मेदवार चुनेर यहीँ सेवा गर्ने अवसर जुराएको छ । चुनाव भनिसकेपछि प्रतिस्पर्धा रहनु स्वभाविकै हो । र, मेरो प्रतिस्पर्धा माओवादी केन्द्र र एमालेसँग रहेको छ । 
 
व्यक्तिगत रुपमा मेरो चुनाव जित्ने आधार सबैसँगको आत्मीय र सद्भावपूर्ण सम्बन्ध नै हो । र, पार्टीगत रुपमा पनि संसदीय चुनावमा कांग्रेसका पक्षमा ६२ प्रतिशत भोट खसेको ठाउँ हो यो । म निर्धक्कसँग के भन्न सक्छु भने यस वडामा मसहित पाँचैजना प्रतिनिधिले भारीमतका साथ चुनाव जित्छौँ । र, यहाँको मतले नगरमै कांग्रेसका पक्षमा उल्लेख्य मत ल्याउन सहयोगी बन्ने अपेक्षा मैले राखेको छु । 
 
५) तपाईंले वडावासीमा के कस्ता प्रतिबद्धता गर्नुभएको छ ? 
 
–यस वडाकै सबैभन्दा प्रमुख समस्या सालघारीमा अवस्थित सुकुम्बासीको हो । मैले उनीहरुलाई पुर्जाको व्यवस्थाका लागि सम्बन्धित निकायमा पहल गरेर व्यवस्थित बसोबासको व्यवस्था मिलाउने प्रण गरिसकेको छु । वडावासीका घरघरमा खानेपानी र मिटरबक्स जडान गर्ने प्रबन्ध गर्ने छु । पञ्चनदीलाई संरक्षण गरी बालउद्यान निर्माण गरी पर्यटन केन्द्रका रुपमा विकास गर्ने छु । घेघौली घोलमा रहेको सार्वजनिक जग्गालाई खानेपानी उपभोक्ता संस्थासँग समन्वय गरी सामुदायिक भवन निर्माण गर्ने छु । धार्मिक सहिष्णुतालाई अक्षुण राख्दै सम्पूर्ण गुम्बा, मठ-मन्दिर, चर्चआदिलाई व्यवस्थापन गर्ने छु । 
 
यस्तै, वडावासीको शैक्षिक विकासका लागि सालघारी र वागदेवीमा रहेको विद्यालयलाई सुधार गर्नुका साथै घेघौलीमा सञ्चालित प्राविधिक शिक्षालयलाई स्तरोन्नतिसहित सर्वसुलभ पोलिटेक्निकको विस्तार गर्दै कृषि, स्वास्थ्य तथा इन्जिनियरिङ विषय सञ्चालन गर्ने छु । वडालाई प्रदूषणमुक्त, लागूऔषधमुक्त र बालश्रममुक्त वडा घोषणा गरी वातावरणमैत्री बनाउँछु । कृषिमा आधारित व्यवसायलाई सर्वसुलभ कृषि ऋण, बजारीकरण, सिंचाइ र आधुनिकीकरण गर्ने प्रतिबद्धता गरेको छु । 
 
यस्तै, वडाभित्र बस्ती विकास पूर्वाधार पूरा गरी कालोपत्रे सडक÷नाला निर्माण गर्ने छु । युवालाई खेलकुद र रोजगारीमा प्रोत्साहन गर्नका लागि खेलकुद मैदान, कबर्ड हल, पुस्तकालय र तालिम केन्द्र निर्माण गर्ने सोच छ । यसैगरी सामाजिक सुरक्षा भत्ता र अपाङ्ग भत्तामा थप गरी घरघरमा पु¥याइ वितरण गर्ने प्रतिबद्धता मैले जाहेर गरेको छु ।