मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

समुन्नत नगर निर्माण गर्न मेरो बलियो उम्मेदवारी : डिल्लीराम कडरिया

समुन्नत नगर निर्माण गर्न मेरो बलियो उम्मेदवारी : डिल्लीराम कडरिया


नवलपरासीको देवचुली नगरपालिका–१२ का ५७ वर्षीय डिल्लीराम कडरिया सो क्षेत्रका कांग्रेसका प्रभावशाली हस्ती मानिन्छन् । सामान्य किसान परिवारबाट युवा राजनीतिमा होमिएका उनी ०३६ सालको जनमतसंग्रहमा बहुदलवादीको पक्षमा जनमत सिर्जना गर्न लागिपरेका नेता हुन् । यस्तै ०४२ को सत्याग्रह, ०४६ को जनआन्दोलन र ०६२/६३ को जनआन्दोलनमा विशेष भूमिका निर्वाह गरेका उनी देवचुली कांग्रेसको गाविस सभापति, देवचुली नगरसभापतिलगायतको जिम्मेवारी पूरा गरिसकेका छन् । देवचुली नगरभित्र विकासप्रेमी, जुझारु र क्रियाशील नेता मानिने कडरिया आसन्न स्थानीय तहको निर्वाचनमा मेयर पदमा आकांक्षा देखाएका छन् । नगरवासीमाझ लोकप्रिय र स्वच्छ राजनीतिज्ञको छवि निर्माण गरेका कडरियासँग भर्खरै घोषणा भएको नगरको विकासका लागि वृहत योजनाहरु छन्, नेतृत्व क्षमता र दृढ इच्छाशक्तिसमेत छ । प्रस्तुत छ, सामाजिक ओझ र नगरवासीको मन जित्दै आएका राजनीतिज्ञ कडरियासँग हिमालय खबरका नेपाल संयोजक केशव भट्टराईले गरेको कुराकानी–

१) देवचुली नगरपालिकाको नगरप्रमुख (मेयर)मा तपाईंको उम्मेदवारी किन ? 

–म यो देवचुलीमा विसं २०२४ सालदेखि बसोबास गर्दै आएकोले यहाँको हरेक ढुङ्गा–माटोसँग परिचित छु । प्रगतिनगर केन्द्र रहेको देवचुली नगरपालिका भर्खरै घोषणा भएको नगरपालिका हो । यसको पूर्वाधार निर्माण गर्न, भौतिक निर्माण तथा ३/४ वटा ठाडोखोलाले जग्गा कटान भइरहेको छ यसलाई तत्काल तटबन्धन गरी नमूना नगरपालिका बनाउने जिम्मेवारी मेरो काँधमा आएको महसुस गरी मेयर पदमा आकांक्षा राखेर उम्मेदवारी दिएको हुँ । नगरभित्र बलियो प्रत्याशी रहको र कांग्रेस राजनीतिमा विभिन्न भूमिका निर्वाह गर्दै जनताको घरदैलोमा पुगेर उहाँहरुको हरेक सुखदुःखमा साथ रहँदै आएको छु । मतदाताको मन जितेका कारणले नै मेयरमा मेरो दावेदारी हो । कांग्रेसमा जुझारु, सक्षम र स्थानीय क्षेत्रका हरेक समस्या बुझेको कारण पार्टीले राम्रो मूल्यांकन गर्छ भन्ने पूर्ण विश्वास लिएको छु । 

२) कांग्रेसका १९ जना आकांक्षीमध्ये पार्टीले तपाईंलाई नै टिकट दिने आधार के देख्नुभएको छ ? 

–कांग्रेसमा धेरै साथीहरुबाट प्रतिस्पर्धा रहनु स्वभाविकै हो । किनभने, २० वर्षदेखि स्थानीय निर्वाचन हुन नसकेको र यस अवधिको ग्याबमा पार्टीले धेरै क्याडरहरु उत्पादन गरिसकेकाले प्रत्याशीको संख्या बढ्नु स्वभाविकै हो । तर, केन्द्रले सही मूल्यांकन गरेर कसलाई टिकट दिँदा पार्टीले चुनाव जित्छ, विकास गर्छ, असल नेतृत्व र दृष्टिकोण दिन सक्छ भन्ने हेर्नु जरूरी हुन्छ । पार्टीको मूल्यांकनमा उपरोक्त विशेषता बोकेको बलियो उम्मेदवारका रुपमा मैले आफूलाई प्रस्तुत गरेको छु । मैले जिम्मेवारी पाएमा समुन्नत नगर निर्माणका लागि महत्वपूर्ण योगदान गर्नसक्छु भन्ने आत्मविश्वास मसँग छ । 

३) नगर विकासका लागि तपाईंसँग के कस्ता एजेन्डाहरु छन् ? 

–अत्यन्तै महत्वपूर्ण प्रश्न गर्नुभयो केशवजी । मैले माथि पनि उल्लेख गरेको छु कि देवचुली भर्खरैमात्र नगरपालिका घोषणा भएको हो । यसका पूर्वाधार निर्माणलगायत विज्ञहरुसँग परामर्श लिएर गुरूयोजना बनाएर सबै प्रकारका विकासका पूर्वाधारहरु निर्माण गर्न लागेका छौँ । खासगरी विद्यालय, शिक्षणसंस्था, स्वास्थ्य, मठमन्दिरको संरक्षण, प्रवद्र्धन र व्यवस्थापन गर्दै देवचुली नगरपालिकाको आमूल परिवर्तनमा सक्रिय भूमिका निर्वाह गर्नेछु । नगरलाई वातावरणमैत्री, अपाङ्गमैत्री, बालमैत्री, युवामैत्री, प्रौढमैत्री बनाउन मेरो योगदान रहने छ ।

कृषिलाई आधुनिकीकरण गरी बाख्रापालन र माछापालनलाई अझै प्रोत्साहन गर्ने छु । प्रत्येक वडामा कृषि उपभोग्य जमिनको पहिचान गरी सिंचाइका लागि व्यवस्थापन गर्ने छु ।अहिले देवचुली मावि र पृथ्वी माविमा प्राविधिक शिक्षा सुरू भएको छ, यसलाई व्यवस्थापन गरी प्राविधिक शिक्षालय खोल्न लागिपर्ने छु । नगरवासीलाई स्वच्छ खानेपानीको व्यवस्था गर्दै फोहोरलाई मोहर बनाउने योजना ल्याउने छु । नगरको पैसा नगरमै खर्च गर्ने थुप्रै योजनाहरु मसँग छन् । मेरा सबै एजेन्डा र अवधारणाहरुलाई यहाँ समेट्न सकिँदैन । तथापि नवलपरासीमा गैंडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिकालाई समेटेर एउटा उपमहानगर बनाउने वृहत योजना मेरो छ । यसले विकास निर्माणमा साझेदारी हुनुका साथै महत्वाकांक्षी योजनासमेत निर्माण गर्न सहज हुनेछ । यी चारवटै नगरपालिका ४ प्रदेशमा पर्ने भएकाले यसलाई उपमहानगर बनाउने संभावना बलियो छ । यसमा मेरो महत्वपूर्ण पहल र सक्रियता रहने छ । उपमहानगर बनाउन सक्यौँ भने उपयुक्त स्थान छनोट गरेर एउटा विमानस्थलको अवधारणा बनाउन सक्छौँ । यहाँ एउटा विमानस्थल बनाउन सक्यौँ भने पर्यटन प्रवद्र्धनमा कोसेढुङ्गा सावित हुने देखेको छु । 

४) देवचुलीको विशेषता के हो र यहाँ के कस्ता संभावनाहरु देख्नुभएको छ ? 

–यो धार्मिक, सांस्कृतिक र ऐतिहासिक विशेषता बोकेको नगर हो । धार्मिक पर्यटन, सांस्कृतिक पहिचान र ऐतिहासिक स्थलहरुले सुसज्जित भएको हुँदा यहाँ धार्मिक पर्यटनको संभावना अधिक छ । यहाँ शाश्वत धाम छ, जुन अहिले आकर्षणको केन्द्र बनिसकेको छ । उत्तरमा देवचुली डाँडामा मन्दिर निर्माण गरी आन्तरिक पर्यटकलाई आकर्षित गर्न  केबुलकारको जरूरी देखेको छु । देवचुली र बर्चुलीमा पदयात्रा गराउने, होमस्टेहरु सञ्चालन गरेर पर्यटकको बसाईँ लम्ब्याउन सकिन्छ । यही नगरको वडा नं १२ मा ६ विगाह क्षेत्रमा फैलिएको धार्मिक कालिका आश्रम छ, शिवधाम छ, नागपोखरी छ । जहाँ, उपत्यकाबाहिर प्यागोडाशैलीमा  कलात्मक मन्दिर बन्दै छ । कालिका मन्दिर शिव आश्रमलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास  गर्दे अगाडि लैजाने मेरो योजना छ । 

नेपालकै पहिलो संस्कृत विद्यालय पशुपति साङ्गवेद संस्कृत आमावि पनि यहीँ छ, जहाँ सस्कृत पढेका ब्राह्मणहरु पनि उत्पादन हुन्छन्, जसले हाम्रो संस्कृतिलाई जर्गेना गर्न योगदान दिन सक्छन् । त्यसमा आश्रम बनाएर धार्मिक पर्यटकलाई बास बस्ने व्यवस्था गर्न सकिन्छ । सामुदायिक प्राकृतिक चिकित्सालय पनि यहीँ छ । यसलाई नेपालकै एकमात्र प्राकृतिक विश्वविद्यालय बनाउन सकिन्छ । देशभर र विदेशबाट समेत बिरामीहरु यहीँबाट ठीक भएर फर्किएका छन् । असीमित स्रोत र साधनहरुको व्यवस्थापन गर्न सकिने हो भने प्रशस्त संभावना यहीँ छ । धारापानी चोकमा रहेको खेल मैदानलाई मिनी स्टेडियम बनाउन पहल गर्दै सरकारी जग्गा खोजी गरी खेलकुदमा युवाको मनोबल वृद्धि विकास गरी अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने व्यवस्था गर्न रंगशाला बनाउन लागि पर्ने छु । 

५) देवचुलीमा बेरोजगार युवा र सुकुम्बासी समस्या समाधानमा तपाईंको भूमिका कस्तो रहन्छ ? 

–हेर्नुहोस्, निर्वाचनकेन्द्रित र झुटा आश्वासन बाँडेरमात्रै हुँदैन । बेरोजगारी र सुकुम्बासी दुवै समस्या राष्ट्रिय समस्या हुन् । देशकै प्रमुख समस्या भएकाले आज युवा बिदेसिनु परेको तीतो यथार्थ हामीसँग छ । बेरोजगारी युवालाई उत्पादन क्षेत्रमा लगाउन मैले पहल गर्नेछु । त्यसैले पहिले पूर्वाधार निर्माण गर्नुपर्छ भनेको हुँ । गुरूयोजनामा पनि यसलाई समेटिएको छ । कांग्रेसको घोषणापत्र आउँदैछ, त्यसमार्फत पनि मैले बेरोजगार युवालाई कसरी रोजगार दिलाउन सकिन्छ र युवाको श्रम र शक्ति कसरी स्वदेशमै खर्चिन सकिन्छ भन्ने विषयमा भूमिका निर्वाह गर्ने छु । 

यस्तै, यस नगरमा ०२२/०२४ वर्ष सालदेखिका भूमिहीन सुकुम्बासी छन् । अहिले अमर सामुदायिक वनमा २/४ कट्ठा जग्गा कमाएर अव्यवस्थित रुपमा रहेका सुकूम्बासी छन्, उनीहरुलाई उपयुक्त र सुरक्षित स्थानमा व्यवस्थापन गर्न जरूरी देखेको छु । ०४५ सालमा आयोगले विवादित ठाउँमा सिफारिस गरेर गलत निर्णय लिएजस्तो लाग्छ । अहिले यो समस्या झनै बढेर गएको छ । पुर्जा नदिइएको, स्वामित्व अर्केले उपभोग गरेकोजस्ता समस्या देखिएका छन् । माझी, बोटे, मुसहर, थारुहरुलाई विशेष प्राथमिकता दिएर सुकुम्बासीहरुको पहिचान गरेर व्यवस्थित गर्न लागिपर्ने छु । साथै, थारु होमस्टे, मगर होमस्टेलाई सञ्चालन गरेर आन्तरिक पर्यटक बढाउन मद्दत पुग्ने देखेको छु ।