बिजनेस

सफलताको कथा : जो मजदुर हुँदै चितवनका 'नम्बर १' भिडियोग्राफर बने

1866 पटक पढिएको

१८ वर्षअघिको सपना विपनामा परिणत

केशव भट्टराई / हिमालय खबर | 19th Apr 2017, Wednesday | २०७४ बैशाख ६, बुधवार ०४:३८
चितवन । एउटा विपन्न बालक जसले धेरै वर्ष होटलमा भाँडा माझे । घरेलु कामदार बनेरसमेत बाल्यकाल भोगे । तर तिनै युवाको सपना विपनामा परिणत भएको छ । 
 
पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ स्थित कुमरोज, सिम्रेनीका मेघनाथ चौधरी अहिले ३४ वर्षका भए । अहिले उनी चितवनमा चर्चित भिडियोग्राफर हुन् । गाउँमा चलचित्र छायाङ्कन हुँदा बाल मस्तिस्कमा भिडियोग्राफर बन्ने अठोट उनले पूरा गरेरै छाडे । त्यसका लागि उनलाई वषौँसम्म प्रतीक्षा गर्नुप¥यो ।
 
विपन्नताको कारण तीन कक्षाभन्दा बढी पढ्न नपाएका चौधरीले १८ वर्ष अघिदेखि फोटो खिच्न सुरू गरेका हुन् । संभवत थारु जातिमा उनी नै पहिलो फोटोग्राफर हुन् । भन्छन्, ‘मैले फोटो खिच्न सुरू गर्दा रिल लोड गर्ने क्यामेरामात्र चलनचल्तीमा थियो । त्यतिबेला गाउँमा हुने थारुजातिका चाडपर्वहरुमा फोटो खिचेर बिक्री गर्दै घरमा नून–तेलको जोहो गर्थेँ ।’ 
 
त्यसबेला फोटोग्राफर बन्न सजिलो थिएन । पहिले त क्यामेरा चाहिन्थ्यो । तर उनीसँग क्यामेरा किन्ने सामथ्र्य थिएन । गोल्छा हाउसले टिभी किन्दा दिएको क्यामेरा एक जनाले उपहारस्वरुप दिएपछि फोटो खिच्न कुमरोजदेखि साइकल पेलेर नवलपरासीको डण्डासम्म पुग्ने गरेको उनी सम्झन्छन् । त्यसबेला भात खाने पैसा नहुँदा धेरैदिनसम्म चिया पाउरोटीका भरमा हिँड्नु परेको उनी सुनाउँछन् । 
 
विगत सम्झँदै उनी थप्छन्, ‘सातवर्षको उमेरमा शान्तिचोकको एक होटलमा भाँडा माझेँ, त्यसैबेला पढ्न सिकेको हुँ । होटलमा सात वर्ष काम गरेपछि अरु तीन वर्ष नारायणगढमा टिभी रेडियो बनाउन सिक्दै घरेलु कामदारका रुपमा बसेँ । एकदिन घर साहुनीले काम बिगारेको निहुँमा निर्घात कुटेपछि चित्त दुखेर त्यहाँबाट हिँडेको उनी बताउँछन् । 
 
त्यसबेला उनी १७ वर्षको लक्का जवान भइसकेका थिए । त्यसपछि भने उनको पढ्ने धोको मनभित्रै रह्यो । त्यसबेला उनका बाआमाले रत्ननगरको पुरानो ज्योतिहल छेउमा जेरी पसल गर्थे । त्यहीँ उनले बाआमालाई सघाए । पुरानो पदमपुरको भिमवली मन्दिरको ऐलानी जग्गामा बस्ने चौधरी परिवार पदमपुर स्थानान्तरण भएसँगै रत्ननगरमा बसाइँ सरेको थियो । 
 
उनले फोटो खिचेरै परिवार चलाउँदै आए । त्यसै समयमा चितवन केबुल टिभीमा भ¥याङ बोक्ने काम पाए । पछि प्राविधिक हुँदै अहिलेसम्म पनि उनले सोही केबुलका पुराना र विश्वासिला कर्मचारीका रुपमा काम गर्दै आएका छन् । 
 
आफ्नो मिहिनत, इमान्दारिता र धैर्यताका कारण आफू भिडियोग्राफीमा सफल भएको उनी सुनाउँछन् । भन्छन्, ‘मैले आफ्नै खुट्टामा उभिएर घरजग्गा जोडेँ । बाबा बित्नु भो घरमा आमा, श्रीमती, छोराछोरी र भाइ गरी ६ जनाको खर्च पनि धान्दै आएको छु ।’ 
 
उनका छोराछोरी कुमरोज एकाडेमीमा पढिरहेका छन् । श्रीमतीले सिम्रेनीमै पसल चलाएकी छन् । भन्छन्, ‘अहिले बल्ल मेरो सपना पूरा भएको छ । अहिले मासिक दुईलाख रुपैयाँसम्म कमाउँछु ।' उनले चार लाख रुपैयाँ पर्ने उच्चस्तरीय नयाँ क्यामेरा किनेका छन् । अहिले करन मुभिज प्रोडक्सन खोलेर व्यावसायिक रुपमा काम गरिरहेका छन् । 
 
उनी व्यावसायिक रुपमा भिडियोग्राफी बने पनि यो व्यवसाय व्यवस्थित भने हुन नसकेको उनको धारणा छ । अस्वस्थ प्रतिस्पर्धाका कारण धेरै व्यवसायी टिक्न नसकेको उनी बताउँछन् । यो व्यवसाय ग्राहकअनुसार र रोजाइमा निर्भर रहेको उनको अनुभव छ । 
 
उनले अवस्था हेरी एउटा डकुमेन्ट्री खिचेको ५० हजार रुपैयाँसम्म लिने गरेका छन् । बिहे, वर्तबन्ध तथा चाडवाडमा उनी निकै व्यस्त हुन्छन् । म्युजिक भिडियो, टेलिसिरियल तथा कार्यक्रमहरुमा पनि उनको माग अत्यधिक हुन्छ । कारण उनी हरेक काम गर्दा भित्रैदेखि डुबेर गर्छन् । र, आफूले गरेको काम मनपराएर ग्राहक खुसी हुँदा उनलाई सन्तुष्टि मिल्छ । आफैँले मिक्सिङ गर्छन् । उनी क्वालिटीमा कम्प्रोजमाइज गर्दैनन् (तल हेर्नुहोस् उनले हालै खिचेको भिडियो)। 
 
उनले फोटोग्राफीमा भविष्य देखेरै गाउँका बेरोजगार युवालाई करन मुभिज् प्रोडक्सनका नाममा प्रशिक्षणसमेत दिइरहेका छन् । प्रशिक्षण पाएका धेरैले यो पेसा अंगाल्दै आएका छन् । यस पेसामा आकर्षित हुनेलाई उनको सुझाव छ– ‘दुःखमा आत्तिनु हुँदैन, सुख मात्तिनु हुँदैन । निरन्तर संघर्ष जारी राखे सफलताहरु हात लाग्दै जान्छन् । सपनाहरु पनि पूरा हुँदै जान्छन् ।’ 
 
अहिले चितवन जिल्लामा नै नम्बर १ भिडियोग्राफीका रुपमा उनी चिनिएका छन् । फिल्म, डकुमेन्ट्री, म्युजिक भिडियो, बिहेजस्ता काम उनले निपूर्ण रुपमा सम्पादन गर्छन् ।