बिजनेस

गहना बेचेर केराखेती गरेका सुवेदी वार्षिक दुई करोडको बेच्छन्

1903 पटक पढिएको

रासस | 30th Mar 2017, Thursday | २०७३ चैत्र १७, बिहीवार ०३:२४
नवलपरासी रजहरका यज्ञप्रसाद सुवेदी ‘लक्ष्मण’ चितवनको खैरहनीस्थित चैनपुरमा केराको थम्बा काटेर घरी निकाल्दै छन् । घरी बोकेर गाडीसम्म लैजाने काममा व्यस्त छिन् उनकी श्रीमती जानकी सुवेदी । दुई बगानमा एकैचोटि केरा निकाल्नुपर्दा यो दम्पती बाँडिएर काम गर्छ । नत्र भने सँगसँगै व्यवसाय गर्छन् उनीहरु । हरेक काममा पालैपालो श्रीमान्–श्रीमती खटिन्छन् । पन्ध्रजना काम गर्नेहरु पनि राखिएका छन् । 
 
चैनपुरमा २० बिगाहा क्षेत्रमा लगाइएको केराबाट एक गाडी ९पिकअप भ्यान भरि० केरा निस्कियो । काटेको केरा उनीहरुले तत्कालै बुटवल पठाए । 
 
“चितवनसँगै काठमाडौँ, पोखरा, दाङ सबैतिर केरा जान्छ,” सुवेदीले भने – मागअनुसार यसरी केरा निकाल्दै पठाउँदै गर्छौं ।” माग आएपछि केरा काटिन्छ । याममा तीन–चार गाडीसम्म निस्कन्छ । एक गाडी पिकअफ बोलेरोमा रु एक लाखसम्म मूल्य आउँछ । चितवनसहित बुटवल, दाङ, पोखरा र काठमाडाँ केराको मुख्य बजार हो । “काम गर्दै गयो भने सफल अवश्य भइन्छ, आफ्नो लगनशीलताले सफलता मिल्छ भन्ने विश्वास छ, मिलेर ग¥यो भने सबै कुरा पूरा हुन्छ” – केरा बोक्दै जानकीले भनिन् । 
 
केरामा मात्रै उनीहरुको अहिले झन्डै रु एक करोड २५ लाख लगानी छ । प्रतिबिगाहा रु दुई लाख १२ हजारभन्दा बढी लगानी लाग्छ । सत्र वर्षअघि दुई बिगाहाबाट खेती सुरु गरेको यो जोडीले अहिले ५५ बिगाहामा खेती गरेका छन् । 
 
बिक्री बजारअनुसार तलमाथि हुन्छ । अहिले कोसाको तीन रुपैयाँ ५० पैसा पर्छ । किलोमा लैजाँदा रु ३५ छ । “त्यही हो वार्षिक रु दुई करोड बराबरको कारोबार हुन्छ,” यज्ञ सुवेदी भन्छन् – “चित्त बुझ्दो फाइदा छ भनौँ ।” 
 
सुरुमा रु तीन लाख लगाएर दुई बिगाहाबाट खेती सुरु गरेको अहिले ५५ बिगाहा पुगेकामा उनीहरु खुसी छन् । त्यसबेला दुई हजार ८०० बोट थिए । अहिले ८० हजार बोट छन् । प्रतिबिगाहा एक हजार ४०० बोट केरा लगाइन्छ । एउटा बोट तयार पार्न रु २१२ लगानी पर्दोरहेछ । 
 
यसरी सुरु भयो खेती 
विसं २०५७ फागुन १६ गते घर छाड्ने र घर नबिर्सने कसम खाएर निस्के यज्ञ सुवेदी । सुरु अवस्थामा व्यवसाय गर्न घर छाडेर टाढा हुन गाह्रै हुने । त्यसकारण आर्थिक अवस्था साह्रै दयनीय नभएपनि नयाँ ठाउँमा कसैले ऋण नपत्याउने भएपछि भएजतिको गहना बेचेर सुरु गरिएको थियो व्यवसाय । श्रीमती जानकीले पनि सहजै स्विकारिन् । त्यो बेला दुई बिगाहाबाट उनले केरा खेती सुरु गरेका थिए । विसं २०६६ मा उनले २० बिगाहामा केरा खेती पु¥याए । अहिले ५५ बिगाहा छ । 
 
सुरुमा बुवा जिवलालले केही केरा खेती गरेका थिए । चितवनमा केरा खेती विकास गर्ने अगुवा अम्बिका अधिकारीसमेतको प्रेरणाबाट खेती सुरु गरेको उनले बताए । “सुरुमा त ऋण नै खोजेको हो, अपुग श्रीमतीको गहना तिलहरी, सिक्री बेचेर व्यवसाय थालियो,” उनले थपे – “अहिले सन्तुष्ट छु ।” 
 
केरा लगाउन कपिलवस्तु पनि पुगे । हाल पाँच स्थानमा केरा खेती छ । खैरहनीको चैनपुरमा मात्रै २० बिगाहामा केरा लगाइएको छ । अहिले यहाँ २८ हजार केराका बोट रोपिएका छन् । 
 
पदमपुरमा सात बिगाहा र जगतपुरमा २० बिगाहा छ । ठिमुरामा पनि २० बिगाहाको सामूहिक खेती छ । चैनपुरमा मात्रै दैनिक एक ट्रिपमा तीन सय घरीसम्म केरा निस्कन्छ उनको । चैतदेखि असार, साउनसम्मै केरा निस्कन्छ । केरा रोपेको एक वर्षपछि बजारमा पठाउन सुरु हुन्छ । 
 
बिमाले व्यवसायी उत्साहित 
 
पहिले बिमा नहुँदा केरामा ठूलो क्षति हुन्थ्यो । बर्सेनि करोडौँको क्षति व्यहोर्थे व्यवसायीले । बिमा सुरु भएकाले क्षतिको ९० प्रतिशत क्षतिपूर्ति आउने भएपछि उनीहरु उत्साहित छन् । यो वर्ष सुवेदीको पनि हावाहुरीले एक हजार ५०० बोट लडाएको छ । पहिला पूरै क्षति बेहोर्नुपथ्र्यो । अहिले बिमा भएकाले क्षतिपूर्ति आउने क्रममा छ ।
 
जिल्लामा ६०० जना केरा किसानमध्ये २०० जनाले बिमा गरिसकेका छन् । धेरैपटक क्षतिबाट पीडित भए व्यवसायी । केही पलायन पनि भए । सरकारलाई बर्सेनि गुहार्नुपथ्र्यो । बिमा नहुँदा प्रतिबोट मोहर या एक रुपैयाँ आउन मुस्किल थियो । 
 
अहिले क्षतिको ९० प्रतिशत क्षतिपूर्ति पाइने भएकाले ढले पनि किसान ढुक्क हुने केरा व्यवसायी सङ्घ चितवनका अध्यक्ष विष्णुहरि पन्त बताउँछन् । तर पनि कृषि ऋण पाउन सकेका छैनन् उनीहरुले । किनकि भाडामा खेती गर्नुपर्छ । बोट धितो राखेर ऋण दिइए अझै बढी काम गर्न सकिने व्यवसायीको तर्क छ । केही रोगको पहिचान नहुँदा समस्या पनि छ । बिरुवा यहीँबाट उत्पादन हुन्छ । नयाँ लगाइरहनुपर्ने झन्झट हुँदैन । 
 
जिल्लामा केराखेतीको अवस्था 
 
जिल्लामा २०४७ सालदेखि केराखेती सुरु भएको थियो । विसं २०५१ मा केही फस्टाएको थियो । विसं २०५७ बाट केही व्यावसायिक खेती सुरु भएकामा २०६२ सालदेखि सङ्घ दर्ता भएर नै किसान व्यावसायिक केराखेतीमा लागेका हुन् । 
 
अहिले जिल्लामा उत्पादित केरामध्ये ४० प्रतिशत जिल्लामा र ६० प्रतिशत जिल्ला बाहिर खपत हुन्छ । भारतीय केरा भित्रिने गरेकाले सबैभन्दा ठूलो समस्या हुने गरेको किसानले गुनासो गरेका छन् । जिल्लामा वार्षिक रु एक अर्बको कारोबार हुँदै आएको सङ्घका अध्यक्ष विष्णुहरि पन्त बताउँछन् । छसय भन्दा बढी किसानले यहाँ दुई हजार २०० भन्दा बढी क्षेत्रमा केरा लगाएका छन् । 
 
अझै ६० प्रतिशत भारतबाट केरा आयात हुन्छ । सयमा सय नै यहाँ उत्पादन गर्नुपर्छ भनेर यहाँका व्यवसायी लागिपरेका छन् । केही वर्षअघि चितवनमा उद्योग वाणिज्य सङ्घ चितवनले एक गाउँ एक उत्पादन कार्यक्रमअन्तर्गत केराखेती विस्तार अभियान चलाएको थियो । त्यसले केराखेती विस्तारमा ठूलो सहयोग पु¥याएको थियो । सङ्घका कार्यकारी निर्देशक रसिक प्रधान केराखेती विस्तारमा यो कार्यक्रम कोसेढुङ्गा सावित भएको दाबी गर्छन् ।