अन्तर्वार्ता

टेक्ससमा झण्डै दुई दर्जन व्यावसाय भएका ज्ञानेश्वर भन्छन् , 'यहाँ सिक्न लजाउने पछि पर्छन'

8500 पटक पढिएको

सुत्दा पनि अमेरिकामा डलर बनाउँछन् श्रेष्ठ

- विजय घिमिरे | 24th Mar 2017, Friday | २०७३ चैत्र ११, शुक्रबार ०७:३३
ह्युस्टन (अमेरिका)– गुल्मी पुर्खौली घरमा जाँदा आउँदा बाटोमा पर्ने मुग्लिन, नारायणघाट र वुटवल बजारले ज्ञानेश्वर श्रेष्ठको मनमा पर्थ्यो–सुतेको बेलामा पनि पैसा कमाउनुपर्छ ।
 
उधारो व्यापारको पीडामा रहेको तम्घासमा रहेको बुवाको कपडा पसलवाट यो सपना पुरा नहुने देखेपछि ज्ञानेश्वर पढ्न अमेरिका हानिए ।  अमेरिकाको चैथो ठूलो शहरमा पर्ने टेक्ससको ह्यूस्टनमा ज्ञानेश्वरका २२ वटा खुद्रा समान विक्री गर्ने स्टोर (ग्याँसस्टेशन समेत) छन् । तिनले  दिनमा मात्र होइन रातमा पनि डलर, पेनी बनाउँछन् ।
 
'मेरो घर गुल्मीको तम्घास, काठमाडौँको सिध्दार्थ बनस्थलीमा स्कुल पढ्थें । बिदामा घर आउँदा जाँदा २४ घण्टानै खुल्ने मुग्लिन, नारायणघाट र बुटवल बजारले मलाई प्रभाव पारेको थियो । त्यसबेला नै सुतेको बेलामा पनि पैसा कमाउनपर्छ भन्ने लाग्थ्यो,' ज्ञानेश्वरले भने-'त्यसैले म अमेरिकामा पनि २४ घण्टानै खुल्ने ग्याँस स्टेशन (पेट्रोप पम्प र खुद्रा पसल) व्यवसायमा आकर्षित भएँ ।'
 
पढ्न भनेर विद्यार्थीका रुपमा सन् १९९५ अमेरिका आएका ज्ञानेश्वरले अहिले अमेरिकामा दर्जनाैलाई रोजगार दिएका छन् । तयारी हुने क्रममा रहेका नयाँ व्यवसायमा पनि लाखौं डलर लगानी भएको उनले सुनाए ।
 
'बिदामा घर जाँदा बुवालाई व्यवसायमा सघाउँथेँ। जिल्लातिरको व्यापार उधारोमा हुन्थ्यो । घर जाँदा बुवाले मलाई गाउँ गाउँमा त्यही उधारो उठाउन पठाउनु हुन्थ्यो । त्यहाँ पुग्दा पैसा उठाउनु पर्ने मानिससँग जग्गा जमिन त थियो तर नगद नै थिएन । उठ्ने संभावना नै देख्दैनथेँ म । उधारो लिनेसंग नगद नै नभएपछि कसरी तिर्ने सक्ने ?' ज्ञानेश्वरले विगतलाइ सम्झदैँ भने-' मलाई त्यत्ति देखिबेला देखिनै यसरी नगदनै नभएको ठाउँमा व्यापार गरेर हुदैंन भन्ने लागेको थियो, उधारो व्यापारको पिडा वुझेंको थिएँ ।'
 
काठमाडौमा आईस्सीको पढाई सकेपछि उनले भारतमा डाक्टर पढ्ने योजना बनाएका थिए । दिल्लीमा डाक्टर पढ्ने इच्छा थियो । त्यसवेला ४० लाख भारु खर्च चाहिने भयो त्यो समयमा यो पैसा धेरैनै हो । आखिर यो पैसा मेरो नै हो किन खर्च गर्ने जस्तो लाग्यो ज्ञानेश्वर  ती दिन सम्झँदै भन्छ्न-'त्यसपछि यो योजना छाडेर आईटी पढ्न २१ बर्ष अघि ह्यस्टन कम्युनिटी कलेजमा आएँ ।'
 
विद्यार्थीका रुपमा अमेरिका आएपछि उनले पनि निकै हण्डर पाए । नेपालमा खान लगाउन र अन्य खर्चका लागि दुख थिएन तर, यहाँ सजिलो भएन । पुरा समय पढनु पर्यो पुरा समय काम गर्नु पर्यो ।
 
उनले भने-एक दिनको घटना हो पुरानो गाडी थियो । एक दिन इन्जिनमा समस्या आयो वनाउन २५/२६ सय डलर लाग्ने भयो मेरो महिनाको कमाई ८ सय थियो । त्यस्ता कठिन दिनहरु पनि आए । म टाट उल्टिएकै स्थितिमा थिएँ स्थिति दयनिय थियो । तर, कहीँकतै हरेस खाएको थिईन ।'
 
'पढ्दै काम गर्दै गर्दा एउटा अविष्मरणिय संयोग जुर्यो । म चाइनिजको रेष्टुरेण्टमा काम गर्थें । एक दिन केही मानिसहरु आएर रेष्टुरेण्टको सबैतिर हेरे । त्यसको एकैछिनमा पुर्व अमेरिकी राष्ट्रपति डब्लु एच बुस (बुस सिनियर) र पत्नी बारवरा बुस भित्र आई टेवुलमा बस्नुभयो । कसले सर्भिस गर्ने ? अरु साथीहरु पछि हटे । मलाई तिमीनै जाउ भने । मसँग पनि त्यो वेला काम गर्ने वर्कपरमिट थिएन । तर, धक नमानी गएँ उहाँहरुलाई सर्भिस दिएँ । राष्ट्रपतिले कहाँवाट आएको जस्ता प्रश्न सोध्नुभयो । मैले नेपालका बारेमा केही कुरा बताएँ ।
 
मलाई चाँहि सर्भिस दिएवापत टिप्स राम्रै आउला भन्ने थियो । जानेवेला मलाई राष्ट्रपतिले टेबुलमा तिम्रो लागि केही स्पेशल राखिदिएको छु भने । गएर हेरेँ राम्रै पैसा होला भन्ने लागेको थियो  तर, त्यहां त प्र्रेसिडेन्टल पिनमात्र थियो । पैसा नहुँदा खिन्न भएँ । पछि रेष्टुरेण्टको साहुले त्यो किन्न माग्यो । साहुले एक सय ५० डलर दिन्छु भन्यो । मलाई दे भनेर धेरैनै फकायो । तर मैले दिइन । बल्ल थाहा भयो यो महत्वपुर्ण रहेछ यो उपहार अहिले पनि मैसँग छ ।'
 
'त्यो बेला अहिलेजस्तो मोबाइलमा क्यामरा थिएन, फोटो भने खिच्न पाइन । म विद्यार्थी थिएँ तर, जोखिम लिन डराउँदैनथें । विध्यार्थी हुँदानै अलि अलि कमाएको पैसाले घर किनें । भाडा किन तिरीरहनु जस्तो लाग्यो । ग्रिनकार्ड थिएन त के भयो ? नेपाल फर्किनु परेछ भने वेचेर जाउँला भन्ने लाग्यो घर किने,' उनले भने ।
 
सन् २००५ सम्म पनि उनीसँग अमेरिकामा स्थायी रुपमा वस्ने ग्रीनकार्ड थिएन । तर, पनि व्यवसाय शुरु गर्न यसलाई वाधकका रुपमा लिएनन् ।
'२००५ मा मैले साझेदारीमा स्टोरमा लगानी शुरु गरेँ,' उनले भने-'अर्को पार्टनरको नाममा व्यवसायमा लगानी गरेको थिएँ ।'व्यवसायमा लगानी गरी जोखिम लिने क्षमता कसरी आयो ? उनी भन्छन्-'हाम्रो तम्घासपछि बुटवल र काठ्माडौमा घर थियो । बुवाको व्यवसाय थियो, मैले कमाएर नेपाल पैसा पठाउनु पर्ने वाध्यता थिएन त्यसलै जोखिम लिने साहस आयो ।' उधारो उठाउन समस्या देखेकाले मलाई नेपाल फर्किएर फेरी वुवाको व्यवसायमा जाने मन पनि थिएन । त्यसैले यही कमाएको यही लगानी गर्न शुरु गरेको उनी बताउँछन् ।
 
अर्को कारण पनि छ । जागिर खाएर नेपालमा जस्तो घुस खाने हो भने त धनी हुन सकिएला, नत्र सकिदैंन भन्ने मनमा परेको थियो । उनले भने-'मैले पढाई सक्नु अघि ३६ हजार डलर बार्षिक कमाउँथें । पढाई सकेपछि जागिर खोज्दा ३२ हजार भन्दा वढीको भेटिएन । त्यसमा पनि कर कट्टी गर्दा २६/२७ हजार मात्र हात पर्ने । यसवाट पनि व्यवसायनै ठिक हो त्यतै जानुपर्छ भन्ने पर्यो ।'
 
'पढाई सकेपछि पैसा नै कमाउनु पर्ने रहेछ भन्ने लाग्यो व्यवसायनै रोजें । अमेरिकामा महिनाको ३/४ लाख रुपैंया कमाई हुन्छ भन्ने धेरैमा छ, हो ठिक हो । तर, खर्च पनि यस्तै हुन्छ,' उनले भने-'यहाँको बारेमा सही र तथ्यगत जानकारीहरु नेपाल पुगेको जस्तो लाग्दैन । त्यसैले रुकुम रोल्पा लगायत दुर्गमवाट समेत कतिपय नेपाली मेक्सिकोको बाटो भई धेरै पैसा खर्च गरेर आउँछन । यहाँ खर्च गरी आउँदा खर्च गरेजति कमाउन पनि बर्षौ लाग्छ ।'
 
अमेरिकामा व्यवसाय के हो त ? ज्ञानेश्वर भन्छन्-'यहाँ नियम अनुसार स्वच्छ व्यवसाय गर्नु पर्छ । नीति नियमलाई पुरा पालना गर्नु पर्छ । हामी कतिपयको कस्तो बानी हुन्छ भने एउटा व्यवसाय खोल्ने त्यहाँवाट जायज नाजायज फाइदा लिन खोजिन्छ । यो गलत हो । मेरो सोचाई एउटैलाई निचोरेर फाइदा लिने होइन विस्तार गर्नु पर्छ भन्ने हो ।' जहाँ व्यवसाय छ त्यो घरजग्गा पनि किन्ने आफ्नो अहिलेको रणनीति रहेको उनले सुनाए ।
 
अहिले भाडामा लिएर भन्दा सम्पत्ति नै किनेर (रियलस्टेटपनि आफ्नै वनाएर ) व्यवसायलाई प्रथामिकता दिने उनको प्राथमिकता छ ।  आखिर जहाँ व्यवसाय हुन्छ त्यहाँ रियलस्टेटको मूल्य पनि वढ्छ ।
रियलस्टेट नभई धनी हुन सकिदैंन उनले भने-'अहिले हाम्रो रणनीति रेन्टल सम्पत्ति किनेर व्यवसाय अघि वढाउने हो । आफु योजनाध्द रुपमा चल्ने उनले उनले दावी गरे । 'आफ्नो लागि आफुले योजना वनाउनु पर्यो काम गर्दा कहाँ पुगिन्छ यो वुझ्न सक्नु पर्यो,' उनले भने-'कुनैपनि व्यवसाय शुरु गर्दा राम्ररी नबुझिकन लगानी गर्नु हुदैंन ।'
 
व्यवसायमा आउन चाहने नेपालीलाई उनको सुझाव छ,-'केही गर्छु भन्ने आफैं भित्रबाट आउनुपर्यो । अरुको लहैलहैमा लागेर व्यवसायमा सफल हुन गाह्रो हुन्छ ।'
 
उनको अनुभवमा अमेरिकामा सिक्न र काम गर्न लचाउने पछि पर्छन । उनले अमेरिकामा आफुमात्र आएनन भाईहरुलाई पनि व्यवसायमा लगाएका छन्। विहा गरे दुई सन्तान छन् । चार दशकमा हिडिरहेका ज्ञानेश्वरलाई परिवारको सहयोगले व्यवसाय गर्न सजिलो भएको छ । मिलेर साझेदारीमा व्यवसाय गर्दा पनि फाइदा लिन सकिने उनी वताउँछन् ।
 
'मैले एक्लै काम गरेको होइन, ग्रुपमा काम गर्दाको मज्जा पनि हुन्छ समान सोचाई भएकासँग मिलेर काम गर्दा नयाँ आईडिया पनि आउँछन्,' उनले भने-'तर, साझेदारीमा काम गर्दा कसको के जिम्मेवारी त्यो प्रष्ट हुनु पर्छ तिन जना साझेदार छन् तीनतिरबाट यस्तो गर्नुपर्यो यस्तो गर्नु भएन भन्न थाल्ने हो भने त्यो व्यवसाय चल्न सक्दैन ।'
 
भविष्यका योजना के छन त ? 'व्यवसाय वढाउने नै हो,'- उनले भने-'रियलस्टेट, होटल लगायत मेरो प्रथामिकतामा छन् स्टार्टअपमा पनि केही पैसा लगाएको छु ।'
 
ज्ञानेश्वरले नेपालमा पनि सामाजिक सेवा र व्यवसायमा केही लगानी गरेका छन् । दुई दशक भन्दा वढी परदेशमा विताउँदा उनले के गुमाउनु पर्यो त ? 'म चार कक्षा पढ्न काठमाडौं आएँ, त्यसैले घर वाहिर बस्ने बानी पर्यो । तरपनि बुवा आमा, नातेदार साथि भाईसंग सधैँ सगैं भईएन यसको आनन्द लिन पाइन् ।'
 
विद्यार्थीका रुपमा अमेरिका बस्दा कठिन दिनहरु बिताएकाले उनलाई व्यवसायमा आउने सानोतिनो समस्याले खासै असर पर्दैन । त्यो बेलाको दुख्ख सम्झँदा त अहिलेको समस्या केही उनका लागि ठूला लाग्दैनन् । उनका अनुसार जिन्दगीको उतार चढावलाई स्विर्कान सक्नुपर्छ ।
 
अमेरिकामा शुरुका दिनमा निकै संघर्ष गर्नु परेकाले मलाई अहिले व्यापार व्यवसायमा आउने समस्या खासै ठुलो लाग्दैनन् । ज्ञानेश्वरले भने-'अहिले म मज्जाले सुत्न सक्छु ।' उनी सुतेपनि २४ सै घण्टा खुल्ने उनको व्यवसायले भने रातमा पनि डलर वनाईरहेका हुन्छन् ।
 
(हेर्नुहोस्-सफल व्यबसायी श्रेष्ठसँग हिमालय खबरले गरेको भिडियो अन्तरवार्ता ।)​