मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अमेरिकी एनआरएनलाई पत्रु बनाउने कि साझा र सम्मानित ?

अमेरिकी एनआरएनलाई पत्रु बनाउने कि साझा र सम्मानित ?


‘तँ व्यक्तिगत रुपमा जे सहयोग माग्छस् म त्यसका लागि तयार छु। तर एनआरएनको सदस्य बन्न धेरै कर नगर,’ असाध्यै मिल्ने एक साथीले दुई साता अघि यो टिप्पणीकारसँग भनेका थिए। एक दशक अघि अमेरिका आएर उनी राम्रैसँग स्थापित छन्। सदस्यता लिने इच्छा नहुनुको कारण बारे उनी प्रष्ट्याउँदै थिए–‘हेर, तैँले एनआरएनलाई अमेरिकामा बस्ने सबैको साझा आस्थाको संस्था भन्छस् नि। त्यो तेरो पुरै भ्रम हो। हेर्दै जा, अरु देशमा भन्न सक्दिन। तर अमेरिकामा यो संस्था नेपालको एउटा दलको, त्यसभित्रको पनि एउटा गुटको कव्जामा छ। यो संस्थामा सदस्य भएर मलाई १५ डलर भएपनि खेर फ्याँक्नु छैन।’ 
 
उसलाई सम्झाउने प्रयास विफल भयो। उसले सदस्यता लिएन। बरु यसबीचमा फोन रिसिभ गर्न पनि छाड्यो।
 
भरखरै टेक्सस बसाई सरेका आफन्त हुनुहुन्छ। उहाँलाई पनि सदस्यता लिन आग्रह गर्दा पटक्कै चासो दिनुभएन। ‘त्यही किर्ते सदस्यता बनाएर भोट हालिएका कारण मुद्धा मामिला खेप्दै आएको संस्थाको के सदस्यता लिनु, तैपनि तपाईले भनिहाल्नुभयो। म बनिदिन्छु नि त,’ उहाँको भनाई यस्तो थियो।
 
यतिखेर नेपालबाट सात समुद्रवारि रहेको अमेरिकाका केही नेपालीलाई फुर्सद छैन। ‘केही नेपाली’ किन भनेको भने साँढे दुईलाख नेपाली भएको ठाउँमा पुरा १७ हजारले पनि सदस्यता नलिनुले जसले लिए तिनलाई केही भन्नुपरेको हो। यी केही नेपालीहरु एनआरएन संस्थालाई कव्जा गर्न दिनरात नभनि खटिरहेका छन्। 
 
दुई महिना अघि एनआरएन अमेरिकाले सार्वजनिक गरेको तथ्यांक अनुसारनै यहाँ झण्डै साढे दुईलाख नेपाली छन्। साढे दुईलाखमा १७ हजार पनि  छैनन् सदस्यताको लागि आवेदन दिएहरु। जतिले आवेदन दिएको देखिएको छ त्यसमध्य केही सयको हाराहारीमा नामहरु दोहोरिएका छन्। यस आधारमा यो संस्थाको उद्वेश्य पुरा भयो भएन, यसले सबै नेपालीलाई समेट्न सक्यो सकेन त्यो ठूलै लेखाजोखाको विषय हुनेछ।
 
सदस्यताका लागि १७ हजार आवेदक पनि नपुगेको अवस्थामा एनआरएनका अन्तर्राष्ट्रिय अध्यक्ष शेष घलेले खुशी व्यक्त गरेको खबर आएको छ। एनआरएन अमेरिका आफैँले निकालेको तथ्यांकमा साढे दुईलाख नेपालीमध्य १७ हजार भनेको ६ दशमलव ८० प्रतिशतमात्र हो। सात प्रतिशतले पनि सदस्यताका लागि चासो नदेखाउनु वर्तमान कार्यसमितिक प्रति अविश्वासको संकेत हो भनेर किन नबुझ्ने ?
 
अर्कातिर सात प्रतिशतले पनि सदस्यताका लागि आवेदन नदिएको अवस्थामा शेष घलेले दुःख व्यक्त गर्दै सदस्यताका लागि प्रेरित गर्नुपर्नेमा खुशी हुनुले अमेरिकाको नेपाली समुदायलाईनै आश्चर्यचकित तुल्याएको छ। 
 
यतिखेर उठान गर्न खोजिएको विषय भने सदस्यता छानबीन (मेम्बरसिप भेरिफिकेसन) समितिको बारेमा हो। जुन समितिका सदस्यहरुको विषयमा बाहिर बजारमा आएको हल्ला अनि तिनका संलग्नताका बारेमा जुन खालको प्रश्न र जिज्ञासा अमेरिकाको नेपाली डायस्पोरामा छ त्यसलाई उठाउन खोजिएको छ। 
 
मलाई थाहा छ, जसरी नेपालको राजनीति अटेरी, मिचाहा र मै राज्य हुँ अनि मैले जे गर्‍यो त्यही देशको नीति हो भन्ने खालको संस्कार छ एनआरएन अमेरिकाभित्र पनि यस्तै घातक प्रवृत्ति मौलाउँदै गएको छ। त्यसो हुँदा केही व्यक्तिले यस लेखमा उठाइएका कुरालाई हल्का रुपमा लिनेछन् या त मतलवै राख्ने छैनन्। किनकी उनीहरुसँग यसको जवाफ दिने नैतिक धरातलनै छैन।
 
एनआरएन अमेरिकाको सदस्यताको आवेदन दिने अन्तिम समय अर्थात गत आइतबार मध्यरातसम्म १६ हजार ८ सय ८० ले आवेदन दिए। जसमध्य चारसय ८४ जनाले एकसय ५० डलर तिरेर आजीवन सदस्यताको लागि आवेदन दिएका थिए। 
 
अघिल्ला वर्षहरुमा यो संस्थाको बारेमा जे जस्ता नकारात्मक टीकाटिप्पणीहरु रहेका/भएका भएपनि यस पटक यो संस्थालाई सबैको साझा बनाउनुपर्छ भनेर सबै लागेका छन्। यसलाई सबैले आस्था राख्ने बनाउनुपर्छ भनेर नेपालमा रहँदा जुनसुकै राजनीतिक विचारधारा बोकेका भएपनि यहाँ रहँदा एनआरएनलाई साझा चौतारी बनाउनुपर्छ भनेर पूर्बमा कनेक्टिकटदेखि पश्चिममा हवाईसम्मका नेपालीहरुले समय दिएका छन् यसपटक। व्यक्तिगत रुपमा भेटेर हुन्छ या सामाजीक सञ्जालहरुको प्रयोग गरेर होस् या फोनमै कुराकानी गरेर भएपनि नेपाली सोसाइटीसँग निकट हुन नचाहनेलाई समेत सकृय बनाएका छन् धेरैले । 
 
‘यो सबैको साझा मन्दिर हो, यहाँ भित्र पस्दा सबैले नेपाली राजनीतिको जुत्तालाई फुकालेर भित्र पस्नुपर्छ’ भनेर धेरैजना सकृय भएका छन्। नेपालमा छँदा राजनीतिको उपल्लो तहमा पुगेकाहरुले समेत ‘सबैलाई समेटेर लैजाने साझा संस्था यसलाई बनाउनुपर्छ’ भनेर मरिमेटे। तर उनीहरुको प्रयास यतिखेर ‘ट्याई ट्याई, फिस’ हुने अवस्थामा छ। 
 
हो, सदस्यता छानबीन समिति गठन हुनुपर्थ्यो र त्यो अति आवश्यक पनि हो। किनकी एउटै व्यक्तिका दर्जनौ ठाउँमा नाम छन्। विधानले दुई वर्ष अमेरिका बसेको व्यक्तिलाई मात्र सदस्यता दिन मिल्ने भनेकोमा दुई महिना अघि आएकाहरु पनि सदस्यको आवेदक छन्। गलत इमेल र गलत ठेगानाका भरमा सदस्यता थप्ने काम भएको छ। त्यसलाई रोकेर एनआरएन अमेरिकालाई शुद्धिकरण गर्न जरुरी पनि छ। 
 
तर, अहिले जे जति नामहरु भेरिफिकेसन कमिटीमा रहेका छन् उहाँहरुको सन्दर्भमा केही विवादहरु आएका छन्। विशेषगरि जनसम्पर्क समिति अमेरिकाका उपसभापति सिपी पौडेल र सदस्य प्रमोद सिटौलाको नामलाई लिएर विवादहरु आएका हुन्। उहाँहरुले अहिले सम्हालिरहेको पदका कारण विवाद आएको हो। 
 
उहाँहरुको आफ्नो क्षेत्र (विशेषगरि राजनीतिमा) क्षमतावान हुनुहोला। उच्च नैतिक आचरण, सदाचारी पनि हुनुहोला। राजनीतिमा उहाँहरुको क्षमतालाई लिएर प्रश्न उठाउन मिल्दैन। किनकी उहाँहरु अमेरिकाभरि रहेका नेपाली कांग्रेसका कार्यकर्ता अनि शूभचिन्तकका नेता हुनुहुन्छ। 
 
तर, यो भन्दैमा उहाँहरु जहाँ पनि फिट हुनुहुन्छ र हुनुपर्छ भन्ने तर्कसँग सहमत हुन सकिँदैन। राजनीति र प्राविधिक विषय बिल्कुल फरक हुन्। सदस्यता फेरिफिकेसन भनेको एउटा शुद्ध प्राविधिक काम हो। १६ हजार ८ सय ८० जनालाई व्यक्तिगत रुपमा भेटेर भेरिफिकेसन संभव पनि छैन र यो हुँदा पनि हुँदैन। त्यसका लागि जसरी सदस्यताका लागि प्रविधिको सहयोग लिइयो, भर परियो। ठीक त्यसैगरि भेरिफिकेसनका लागि पनि प्रविधिकै प्रयोग हुनुपर्छ। 
 
अमेरिका यस्तो ठाउँ हो, जहाँ छिनभरमा को मान्छे कहाँ छ भन्ने पत्ता लाग्छ। उसले दिएको ठेगाना सहि हो या होइन छुट्याउन सकिन्छ। तर त्यसका लागि दक्षतायुक्त व्यक्ति अवश्य चाहिन्छ। जसरी घरको डिजाइन तयार गर्न चार्टर्ड एकाउन्टेन्टलाई लगाएर हुँदैन, नत हिसाब किताव राख्नका लागि इन्जिनियरलाई लगाउँदा नै हुन्छ। ठीक त्यसैगरि सदस्यता भेरिफिकेसन गर्ने काम सूचना प्रविधिमा विज्ञता हाँसिल गरेकालेमात्र सही अनि यथार्थ ढंगले फत्ते गर्नसक्छन्। 
 
सूचना प्रविधिको संसारकै राजधानी सिलिकन भ्यालीदेखि लिएर अमेरिकाका हरेक शहरमा आइटीका क्षेत्रमा सयौँ दक्ष नेपाली छन्। यस्ता भेरिफिकेसनका सफ्टवयर उहाँहरुले क्षणभरमा बनाएर सही र यथार्थ विवरण उहाँहरुले निकाल्न सक्नुहुन्छ। उहाँहरुलाई पनि नेपाली समुदायमा चिनिन, केही गरेर देखाउन चाहना अनि रहर छ। खै एनआरएन अमेरिकाले उहाँहरुलाई उपयोग गर्न सकेको? भेरिफिकेसनमा परिचालन गर्नुपर्ने यस्ता विज्ञहरुलाई हो। जो नेपालको कुनै राजनीतिक पार्टी र तिनका आस्थासँग वन्धक हुँदैनन्। 
 
अमेरिकामा आएर नेपालको राजनीतिलाई अँगालिरहने, त्यसको घेराबाट बाहिर निस्कन नसक्ने, त्यतिमात्र होइन नेपालमा फर्केर गइहाले भनेपनि वडा सदस्य समेत नजित्नेहरुको चुरीफुरीले एनआरएन संस्था मजवुत र सबैको साझा हुनसक्दैन। बिहान उठेदेखि राति सुत्नेबेलासम्म नेपालकै राजनीति अनि सेरोफेरोका विषयवस्तुलाई फेसबुकको स्टाटस बनाएर पिसाबको न्यानोमा रमाउनेबाट एनआरएन अघि बढ्न पनि सक्दैन।
 
मैले माथिनै भनिसके। भेरिफिकेसन समितिमा रहनुभएका अधिकांश आफ्नो क्षेत्रमा विज्ञ हुनुहुन्छ। तर उहाँहरुको त्यो विज्ञताले सदस्यता भेरिफिकेसनको यति कठिन र जिम्मेवार काम निष्पक्ष हुनसक्दैन। नेपाली जनजिब्रोमा एउटा भनाई छ नि–‘….ले दाई हुने भए गोरु किन चाहिन्थ्यो।’
 
भेरिफिकेसन समितिमा रहनुभएकाहरु मध्य केहीका विगतदेखि वर्तमानसम्म शुक्ष्म अध्ययन गर्दा उहाँहरुले हेर्ने मापदण्ड ‘जनसम्पर्क समितिको सदस्यता’ भन्दा बाहेक अरु केही हेर्ने ल्याकत राख्नुहोला भन्नेमा साराको शंका छ। यो स्वयम् जनसम्पर्क समितिका नेता/कार्यकर्ताको पनि शंका हो। 
 
समितिले हेर्नुपर्ने आवेदक अमेरिकामा बस्छ बस्दैन? आवेदक सही व्यक्ति हो होइन  भनेर हेर्ने हो। एनआरएन अमेरिकाको विधानले निर्दिष्ट गरेको योग्यता पुग्छ पुग्दैन अध्ययन गर्ने हो। तर कमिटीका सदस्यहरु देख्दा लाग्दैछ– ‘पहिलो वर्तमान अध्यक्ष डा. केशव पौडेललाई समर्थन गर्नेमध्यबाट पर्‍यो कि परेन। दोस्रो आवेदक जनसम्पर्क समितिको सदस्य छ कि छैन?’
 
सबैभन्दा हाँसोलाग्दो विषय त यो छ कि, आवेदकले सदस्यता शुल्क तिरेको छ कि छैन भनेर हेर्दै नहेरि एकैपटक राज्यस्तरीय भेरिफिकेसन समितिलाई सूचि उपलव्ध गराइदैछ। आर्थिक पक्ष हेर्ने काम कोषाध्यक्षको हो। कोषाध्यक्षलाई ‘बाइपास’ गरेर दुईस्टेप माथि जानुको अर्थ संस्थाभित्रै एक अर्कामा कति अविश्वासको खाडल रहेछ भनेर पुष्टी पनि भएको छ। 
 
संस्थालाई साझा बनाउँ भनेर अपिल गर्ने, तर व्यबहारमा एकलौटी बनाउन कुनै कसर बाँकी नराख्ने। केही गर्छु भन्नेलाई ठाउँ नदिने, सधैँभरि पद ओगटेरै बसिरहने प्रवृत्तिले यो संस्थाप्रति कसैको पनि विश्वास र सम्मान जाग्ने अवस्था छैन।  
 
जनसम्पर्क समितिका पूर्व केन्द्रीय सदस्य विनोद भट्टका अनुसार केहि व्यक्तिहरुले जनसम्पर्क समिति लाई कुस्ति खेल्ने मैदान र एनआरएनलाई Dining Hall (भान्छा कोठा) बनाएका छन् । आजको चुनावसम्म आईपुग्दा पनि त्यहि ब्यबहारलाई निरन्तरता दिईराखेका छन् । भट्टका अनुसार एनआरएनको निर्बाचनमा जनसम्पर्कको नाममा कोहि कसैलाई उम्मेदवार बनाउन र भोट माग्ने अधिकार छैन  । जनसम्पर्कका सदस्यहरु आफुलाई मन परेको उम्मेदवारलाई भोटहाल्न स्वतन्त्र छन । 
 
एनआरएनका ठेकेदार अनि पेटीठेकेदार सरहरुले यो तथ्यलाई बुझ्नु भएन भने एनआरएन संस्था अमेरिकामा धुलीसात हुनेछ। अहिलेनै यहाँ आएर अध्ययन गरेर स्थापित भएका युवाहरुलाई समेट्न नसकेको यो संस्थामा भोली जनसम्पर्क समिति र प्रवासी मञ्चकै शुभेच्छुकहरुले वास्ता गर्न छाडेभने यो संस्था अमेरिकामा भएका नेपाली संस्थामध्य सबैभन्दा पत्रुका रुपमा गणना हुनेछ। 
 
अन्तिममा परिणाम उही र उस्तै आउने व्यबहार नेतृत्व तहबाट अहिलेपनि प्रस्तुत भएपछि यतिखेर सदस्यता लिन आवेदन दिनेहरु पछुताएका छन् भने आवेदनै नदिनेहरु ‘खुच्चिङ’ गर्दैछन्। 
 
‘देखिस् नि, मैले किन सदस्यता लिने चासो नदिएको भनेर? मलाई थाहा थियो, यहाँ यस्तै हरकत र हतकण्डाहरु अपनाउँछन् केही गर्ने मान्छेलाई अघि आउन नदिनका लागि,’ हिजो अाफैँले फोन गरेर साथीले दह्रो व्यंग्य हान्यो । मसँग उसको व्यंग्यलाइ प्रतिरक्षा गर्ने अाधारहरू रहेनन् भएनन्।
 
 
 प्रतिकृया दिनुहोस: