मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नारायणगढ–मुग्लिन सडक दैनिक छ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडक दैनिक छ घण्टा बन्द हुने


चितवन । निर्माणाधीन नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय फेरि बढ्ने भएपछि सर्वसाधारणले सास्ती भोग्नुपर्ने भएको छ । 
 
नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले जारी गरेको सूचनाअनुसार चैत १५ गतेबाट सो सडकखण्ड बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म बन्द हुने भएको छ । अहिले सो सडकमा बिहान साढे १० बजेदेखि दिउँसो तीन बजे अर्थात दैनिक साढे चारघण्टा बन्द हुँदै आएको छ । 
 
‘चैत १५ गतेदेखि अर्को सूचना नआउँदासम्म सडक छ घण्टा बन्द हुनेछ’ आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले भने । सडक विस्तारको काम चलिरहेका कारण गाडी बन्द गरेर निर्माण कार्यलाई तीव्रता दिनु परेको आयोजना कार्यालयले जनाएको छ ।
 
‘सो समयमा वैकल्पिक सडकबाट जान सक्ने गाडीहरुलाई उतैबाट जान हामी अनुरोध गर्दछौं’ आयोजना प्रमुख चन्द्रनारायण यादवले भने । काम हुँदै गरेका कारण बन्दका बेलामा साना गाडीहरुसमेत छिर्न गाह्रो हुने अवस्था छ । एम्बुलेन्सजस्ता अत्यावश्यक सेवाका गाडीहरु विशेष व्यवस्था गरेर पार लगाउने गरेको अधिकारीहरुले जानकारी दिए । 
 
यसअघि पुस ७ गतेबाट सो सडकखण्ड बिहान ११ बजेदेखि तीन बजेसम्म अर्थात चार घण्टा बन्द हुने गरेको थियो । त्यस्तै पुस १९ गतेबाट थप आधा घण्टा अर्थात बिहान साढे १० बजेदेखि तीन बजेसम्म अर्थात साढे चार घण्टा बन्द हुँदै आएको थियो । गत वर्ष माघमा पनि यसरी नै बन्द गरेर सडक निर्माण गरिएको थियो । जुन समय वर्षा सुरू भएपछिमात्रै हटेको थियो ।
 
नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम भइरहेको छ । निर्माण कम्पनी र सडक आयोजनाका अधिकारीहरु सडक बन्द गर्ने समय लम्ब्याउन चाहन्छन् । उनीहरुले चार घण्टाको समय कम भएको भन्दै आपत्ति जनाएका थिए ।
 
‘हामीसँग निर्माण कम्पनीले दैनिक आठ घण्टा बाटो पूरै बन्द भए राम्रोसँग काम गर्न पाइन्थ्यो भन्दै आएका छन् । आयोजनाको तर्फबाट पनि छ घण्टासम्म बन्द गर्न पाए ठिकै हुने थियो भन्ने लाग्यो’ नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले भने । 
 
दुई वर्षभित्र निर्माण सक्ने गरेर सन् २०१५ को अप्रिल महिनामा विभिन्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो । तर, भूकम्प, नाकाबन्दीलगायतका कारणहरु देखाउँदै आठ महिना समय थप भइसकेको छ । तर पनि काम निकै सुस्त हुने गरेको छ । आयोजना प्रमुख यादवका अनुसार अहिलेसम्म ५० प्रतिशत काम पूरा हुनुपर्नेमा जम्मा ४० प्रतिशतमात्रै सम्पन्न भएको छ ।
 
नारायणगढ–मुग्लिन सडक ३६ किलोमिटर लामो छ । त्यसमध्ये ३३ किलोमिटरमा विस्तारको काम भइरहेको छ । सो दूरी पार गर्न अहिले कम्तीमा तीन घण्टा लाग्ने गरेको छ । थप भएको आठ महिनामा पनि निर्माण पूरा हुनेमा धेरैको आशंका बढेको छ ।