बिजनेस

जलयात्रा गर्ने भए त्रिशूली आऔँ

650 पटक पढिएको

जलयात्राको महत्व बुझाउन बञ्चेबाजासहित पदयात्रा

केशव अधिकारी | 19th Mar 2017, Sunday | २०७३ चैत्र ६, आईतवार ०३:४५
धादिङ ।  हिउँद होस् या वर्षा त्रिशूली नदी सँधैभरी धमिलो भएर बग्ने गर्दछ । धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा जैविक विविधताले महत्वपूर्ण मानिएको त्रिशूली नदीको अस्तित्व संकटमा पर्दै गएपछि नदी बचाउन विभिन्न खाले दबाब र अभियानहरु सञ्चालन हुँदै आइरहेका छन् । सीमित व्यक्तिको आर्थिक लाभका लागि नदीमा अतिक्रमण र प्रदूषण बढ्न थालेपछि अभियानकर्ताहरु दबाबमूलक कार्यक्रममार्फत राज्यको ध्यानाकर्षणमा जुटेका हुन् ।  
 
विश्व पानी दिवसको पूर्वसन्ध्यामा जलयात्राको ऐतिहासिक मह¤व बोकेको त्रिशूली नदीमा शनिबार नेपालमै पहिलो पटक राष्ट्रिय झण्डा र पञ्चेबाजासहित जलयात्रा सम्पन्न भएको छ । सयौ अभियानकर्ताहरुले राष्ट्रिय झण्डा र पञ्चेबाजासहित आदमघाटबाट बेल्खुखोला दोभानसम्म पदयात्रा र त्रिशूली नदीमा बेल्खुखोला दोभानदेखि मलेखुसम्म जलयात्रा गरेर पानी र जलयात्राको मह¤वका बारेमा सार्वजनिक सन्देश प्रवाह गरेका हुन् । 
 
त्रिशूली नदी स्वच्छ, सफा राख्दै यूवाहरुलाई जलयात्रामा आकर्षण गर्न पदयात्रा र जलयात्रा गरेको आयोजकहरुले बताएका छन । नेपालमै पहिलो पटक जलयात्राको सुरूवात गरेको  त्रिशूली नदी केही वर्षयता निकै प्रदूषित बन्दै पर्यटनको आकर्षण गुमाउन पुगेको पर्यटन व्यवसायीहरु बताउँछन् ।  
 
राजधानी काठमाडौंबाट प्रमुख पर्यटकीय क्षेत्र चितवन, पोखरा र लुम्बिनी जाने पर्यटकहरुको आकर्षणको केन्द्र त्रिशूली सदाबहार धमिलो बन्दै जान थालेपछि पर्यटकहरु अन्य स्थानमा जान थालेको जलपर्यटन व्यवसायीहरुको गुनासो छ । पहिलो जलयात्रा सुरू भएको त्रिशूली नदीलाई जोगाउन देश विदेशमा सन्देश पु¥याउने लक्ष्यका साथ पहिलो पटक राष्ट्रिय झण्डा र पञ्चेबाजासहित जलयात्रा सम्पन्न गरिएको कोर एडभेन्चर नेपाल प्राइभेट लिमिटेडका भिष्मराज थपलियाले बताए ।
 
त्रिशूली नदी त्रिभुवन विमानस्थलबाट सबैभन्दा नजिक र जलयात्राका लागि सुरक्षित नदी मानिन्छ । राजधानीबाट अन्य ठूला सहर जोड्ने मुख्य त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग त्रिशूली नदी किनारमै रहेकोले पनि यस नदीको मह¤व रहेको छ । ‘नदीलाई स्वच्छ र सफा राख्न सरकारले साथ दिनु पर्छ’, दशौ हजार आन्तरिक तथा बाह्रय पर्यटकलाई जलयात्रा गराउन सकिने सम्भावना अझै पनि रहेको  थपलिया बताउँछन् ।  
 
त्रिशूली नदीको हैसियत दिनप्रतिदिन बिग्रदै गएपछि त्रिशूली बचाउ साझा सञ्जाललाई त्रिशूली बचाउन महाअभियानका रुपमा प्रचारप्रसार र विभिन्न कार्यक्रमहरु गर्न सचेत समुदाय स्वतस्फूर्तरूपमा लागेको सञ्जालका संयोजक उत्तम कँडेल बताउँछन् ।  
 
त्रिशूली नदीलाई सम्पदा नदीकारुपमा घोषण गर्नु पर्ने, राजनीतिक दल स्थानीय प्रशासन र तस्करबीचको मिलेमतोमामा हुने नदीजन्य भ्रष्टाचार बन्द गरिनुपर्ने र  त्रिशूली नदीलाई धार्मिक, ऐतिहासिक तथा पर्यटकीय मह¤वको रुपमा विकास गर्नुपर्ने  त्रिशूली बचाउन महाअभियानको माग रहेको छ । नदीको उत्खनन् र दोहोन रोख्नुपर्ने, भूगर्भ विज्ञान समूहको विद्यार्थीको अध्ययन केन्द बनाउनुपर्ने, नदीमाथि जनताको अधिकार स्थापित गरिनुपर्ने जनता र अभियन्ताहरुको सुरक्षा व्यवस्था गरिनुपर्ने माग महाअभियानको रहेको प्रकृति सम्पदा संरक्षण समितिका संयोजक श्रवणकुमार त्रिपाठीले बताए । 
 
एक दशक अघिसम्म  त्रिशूली नदीको पानी नदी आसपासका  मानिसहरुले पिउनका लागिसमेत प्रयोग गर्ने गरे पनि अहिले भने छुन पनि घिन लाग्ने अवस्थामा पुगेको गजुरीटारका सुदर्शन पण्डित बताउँछन् ।
 
खानीबाट निकालिएको बालुवा धोएको पानी शुद्धिकरण नगरी नदीमा मिसाउनाले र नदी आसपासका बजार तथा बस्तीबाट सिधै फोहोर नदीमा मिसाइ दिनाले  त्रिशूली नदी धमिलो बग्ने गरेको हो । नदी धमिलो बग्दा स्थानीय बासिन्दाले नदीमा नुहाइधुवाइ, लुगाकपडा धुन, पिउने पानी प्रयोग गर्नमात्रै होइन र लास जलाउन आउने मलामिलेसमेत नुहाइधुवाइ गर्न नपाएको स्थानीयको गुनासो छ । 
 
नदी किनार र बगरमा स्काभेटरहरु समेतको प्रयोग गरेर उत्खनन् गर्दा पर्यावरणमा असर पर्ने र स्थानीय मजदुरको रोजीरोटी खोसिएको भन्दै विरोध भइरहेको छ । सात वर्ष अघिबाट सुरू भएको त्रिशूली बचाऊ साझा अभियानमा अहिले देशविदेशमा रहेका  युवाहरु सामाजिक सञ्जालमार्फत जनचेतनामूलक अभियानमा जुटेका छन् ।