मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

सूचना प्रविधिको युगमा फोन गर्न चार घन्टा हिँड्नुपर्ने

सूचना प्रविधिको युगमा फोन गर्न चार घन्टा हिँड्नुपर्ने


जुम्ला । जुम्लाको ताम्ती गाविस टोप्लास्थित अस्थायी प्रहरी चौकीका प्रहरीलाई फोन सम्पर्कका लागि ३ घन्टा पैदल हिँड्नुपर्दछ । ताम्ती गाविसमा नेपाल टेलिकमको जिएसएम टावर नै छैन र सिडिएमए सहज पहुँचमा नहुँदा भनेको बेला फोन सम्पर्क गर्न नसकिएको स्थानीयवासी बताउँछन् । 
 
गाविसमा ठूला घटना पर्दा जिल्लामा सम्पर्क गर्ने सञ्चारको सहज माध्यम नहुँदा ४ घन्टाको पैदल बाटो हिँडेर कुडारी गाविसमा पुगेपछि फोन सम्पर्क गर्नुपरेको अस्थायी प्रहरी ताम्तीका इन्चार्ज जीवराज योगीले जानकारी दिए । 
 
‘सानातिना घटना यहीँ समाधान भए पनि ठूला घटनाका लागि जिल्लामा सम्पर्क गर्नुपर्दछ, तर भनेको बेला माथिल्लो निकायमा कुनै पनि कुरा जानकारी गराउन पाइँदैन’– इन्चार्ज योगीले दुःख पोखे ।
 
प्रहरी हबल्दार वीरबहादुर शाहीले फोन, मोबाइल मात्र नभएर रेडियो, एफएम पनि सुन्न नपाइएको गुनासो गरे । “रेडियो नेपाल सुन्नलाई अलि अग्लो ढिस्कोमा जानुपर्छ, तर पनि राम्रोसँग लाग्दैन”, हबल्दार शाहीले भने । 
 
स्काई फोन राम्रोसँग नलाग्दा नागरिकलाई सञ्चार गर्न गाह्रो भएको कालिका मावि ताम्ती टोप्लाका प्रधानाध्यापक मानबहादुर शाहीले जानकारी दिए । 
 
“न यहाँ स्काई टावर छ, न त नमस्ते टावर नै । धेरैपटक पहल गरियो, त्यसको राम्रोसँग सुनुवाइ हुन सकेको छैन”, प्रधानाध्यापक शाहीले भने । स्थानीय माया शाहीले भने सरकारले दुर्गमवासीलाई बेवास्ता गरेर हरेक कुरामा पछि पारेको आरोप लगाइन् । 
 
नेपाल टेलिकम जुम्लाका प्रमुख श्रीधर अधिकारीले नमस्ते टावर राख्नका लागि प्राविधिक टोली सर्भे गर्न ताम्ती पुगेको बताए । ताम्तीबाट पटकपटक सञ्चारसम्बन्धी समस्याको गुनासो आएकाले पहिलो प्राथमिकतासाथ नमस्ते टावर निर्माण गर्न थालिएको प्रमुख अधिकारीले जनाए । उनका अनुसार स्काई सेवा सहज बनाउन क्षमता विस्तार गरिने छ ।