मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

भारतीय एसएसबीको गोली लागेर नेपाली युवकको मृत्यु

भारतीय एसएसबीको गोली लागेर नेपाली युवकको मृत्यु


भीमदत्तनगर । कञ्चनपुरको पुनास नगरपालिकास्थित कारगिलडाँडा क्षेत्रमा स्थानीय सडकमा ह्युमपाइप राख्ने विषयमा नेपाली र भारतीय पक्षबीच झडप हुँदा एकजना नेपाली युवकको मृत्यु भएको छ । 
 
नेपाल–भारत २०० नम्बर सीमास्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ड निर्माण गरी पानीको निकासका लागि ह्युमपाइप राख्ने विषयमा नेपाली र भारतीय नागरिकबीच विवाद हुँदा दोहोरो ढुङ्गा हानाहान भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । 
 
स्थिति नियन्त्रणमा लिन भारतीय सीमा सुरक्षा बल ९एसएसबी०को गोली लागेर पुनर्वास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताए । 
 
एसएसबीको गोली लागेर गम्भीर घाइते भएका गौतमलाई उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । ह्युमपाइप राख्न भारतीय पक्षले अवरोध गरेपछि आक्रोशित नेपालीले भारतीय भूमिमै गएर उनीहरुलाई लखेटेपछि दोहोरो झडपको स्थिति बनेको इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले जनाएको छ । 
 
प्रहरीका अनुसार भारतीय एसएसबीले छ राउन्ड हवाईफायरसमेत गरेको छ । “यतिबेला स्थिति नियन्त्रणमा लिएर हामी स्थानीयवासीलाई साम्य बनाउन लागिरहेका छौँ ।” प्रहरीले भन्यो – “भारतीय नागरिकलाई पनि भारतीय सुरक्षा संयन्त्रले सम्हालिरहेको छ ।” घटनापछि नेपालतर्फ सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । 
 
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्द पनि घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ । पुनर्वासका स्थानीयवासीले भारतको स्थानीय सहर बसाइन जाने बाटोमा ह्युमपाइप राखिरहेका थिए । पुनर्वास क्षेत्रमा सीमा अतिक्रमणको विषयलाई लिएर यसअघि पनि किचलो हुने गरेको थियो । रासस