मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

यस वर्ष चितवन घुम्ने पर्यटकको संख्यामा सुधार

यस वर्ष चितवन घुम्ने पर्यटकको संख्यामा सुधार


कसरा । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटन आउने क्रममा गत वर्षको तुलनामा यो वर्ष सुधार देखिएको छ । 
 
अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षको सात महिना अर्थात साउनदेखि माघसम्म पर्यटकको संख्यामात्रै बढेको छैन निकुञ्जले गर्ने आम्दानी पनि लगभग दोब्बर भएको छ ।
 
यो आर्थिक वर्षको सात महिनामा चितवन राष्ट्रिय निकुञ्जले १० करोड २६ लाख १७ हजार  ८५५ रूपैयाँ राजस्व आम्दानी गरेको छ । निकुञ्जको आम्दानीको मुख्य स्रोत निकुञ्न घुम्ने पर्यटकबाट लिने प्रवेश शुल्क हो । निकुञ्ज मुख्यालयबाट प्राप्त विवरण अनुसार यस आर्थिक वर्षको सात महिनामा ७४ हजार ८०१ जना पर्यटकले निकुञ्ज घुमेका छन् ।
 
विसं २०७२ साल वैशाख १२ मा गएको भूकम्पपछि पर्यटक आउने क्रम ठप्पजस्तै थियो ।  लगत्तै सुरू भएको मधेस आन्दोलन र संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीका कारण उत्पन्न भएको इन्धन संकटले पनि पर्यटन क्षेत्रमा नराम्ररी असर गरेको थियो । महिनामा कम्तिमा १० हजार पर्यटक आउने चितवन निकुञ्जमा भूकम्पपछि यो संख्या खस्केर १५ सयमा खुम्चेको थियो । 
 
चितवन निकुञ्जबाट प्राप्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको साउनदेखि माघसम्मको सात महिने अवधिमा निकुञ्ज घुम्ने पर्यटकको संख्या ४० हजार ३४० थियो । निकुञ्जले गरेको राजस्व आम्दानी मूल्य अभिवृद्धि कर (भ्याट)समेत जोड्दा पाँच करोड ६२ लाख ३३ हजार ६५९ रूपैयाँ संकलन भएको थियो । 
 
भूकम्पअघिको सामान्य अवस्थामा चितवन निकुञ्ज घुम्ने पर्यटकको संख्या महिनामा कम्तिमा १० हजार र बढीमा २५ हजारसम्म हुने गर्दथ्यो । भूकम्पपछि गत वर्ष चैत र वैशाखमा मात्रै पर्यटकको संख्या १० हजार नाघेको निकुञ्ज मुख्यालय कसराले दिएको तथ्याङ्कमा उल्लेख छ । तर, यो आर्थिक वर्षको साउन र भदौ बाहेक अरु सबै महिनामा पर्यटक संख्या १० हजार नाघेको छ ।
 
अघिल्लो वर्षको तुलनामा पर्यटक संख्या र राजस्वमा सुधार भए पनि भूकम्प अगाडिको अवस्थामा चितवनको पर्यटन अझै पुग्न सकेको छैन । भूकम्प जानुअघिको ७१ सालको साउनदेखि माघसम्मको सात महिनाको अवधिमा झण्डै सवा लाख अर्थात एक लाख २२ हजार ६१० जना पर्यटकले चितवन निकुञ्ज घुमेका थिए । सो वर्षको सात महिनामा कूल १५ करोड ९४ लाख ८३ हजार रूपैयाँ राजस्व उठेको थियो ।
 
सो आर्थिक वर्ष ०७१/७२ को १२ महिनामा चितवन निकुञ्ज घुम्ने पर्यटकको संख्या एक लाख ७८ हजार थियो । २५ करोड रूपैयाँ राजस्व संकलन भएको निकुञ्ज मुख्यालयले जानकारी दिएको छ । गत वर्षको तुलनामा सुधार देखिए पनि चितवन घुम्ने पर्यटकको संख्या सामान्य अवस्थामा झै अझै हुन सकेको छैन ।