विचार / ब्लग

फेसबुकको भित्तामा देखिएजस्तो छैन अमेरिका

166029 पटक पढिएको

भीषण न्याैपाने | 19th Nov 2016, Saturday | २०७३ मंसिर ४, शनिबार ०८:५९

बिहानको झिसमिसे अँध्यारोमा भर्खर स्टोर ओपन गरेर आमासँग फोनमा बोल्दै थिएँ । घरको आँगनीमा भैलिनीहरु भट्याईरहेको प्रष्ट सुनियो । तिहार कस्तो लागिरहेको छ त्यतातिर ? आमाले सोध्नुभयो । मैले हाँस्दै जवाफ दिए-'खुब रमाईलो भैरहेको छ ।'

'आज त यता लक्ष्मी पुजा, भर्खरै सेलरोटी पकाएर सक्न लागे । भैलिनीहरु आइरहेका छन्,'  आमा भन्दै हुनुहुन्थ्यो । आमाले फोन भैलिनीहरुको नजिक लगेर राखिदिनुभयो ।

सुन्दै गर्दा बाल्यकालको याद आयो । खुब रमाईलो गरिन्थ्यो । १०/११ जना साथीको टोली बनायो, अनि गाउँभरि भैलिनी खेल्दा पाएको सेलरोटी त्यहिँ खायो र उठेको पैसा भोलिपल्ट सबैलाई भाग लगायो । भट्याउनेले अलि धेरै पैसा पाउँथ्यो ।

उता भैलिनीहरु रमाउँदै थिए । म आफ्नै विगतमा पुगे । यसपालीको यो तिहार अमेरिका आईसके पछिको दोश्रो हो मेरो लागि । अघिल्लो बर्ष 'ईष्ट सेन्ट्रल युनिभर्सिटी' को होस्टेलमा छँदा साथीभाईसँग रमाईलो गर्दै तिहार बित्यो । घरबाट बोकेर ल्याएको पैसा खल्तिमा थियो त्यतिबेला । होस्टेलको खाना छोडेर म्याक डोनल्स र पिज्जा हट गईन्थ्यो । छुट्टै रमाईलो थियो त्यो बर्ष । जब खल्ती शून्य भयो र बाहिर अपार्ट्मेन्टमा बस्न थालियो त्यसपछि सुरु भयो अफिसियल अमेरिका बसाई ।

त्यति बेला कामको खाँचो भयो ।  साथीभाइसँगको सरसापट र युनिभर्सिटीको जर्नलमा काम गर्दा कमाएको केही हजार डलर जम्मा गरी टोयोटा क्याम्रे किने । गाडी नभएसम्म अमेरिकामा कमाई हुँदैन । काम खोज्न जाँदा पनि पहिलो प्रश्न हुन्छ- गाडी छ कि छैन कामसम्म जाने अउनका लागि ?'

गाडी चढ्ने रहर त छदैँ थियो तर वाध्यता पनि थपियो कामले गर्दा ।लामो खोजपछि टेक्ससको ड्यालासको एउटा 'स्मोक शप्' मा काम मिल्यो । म बस्ने ओक्लाहोमा राज्य, तर काम मिल्यो झण्डै दुइसय माईल टाढाको टेक्ससमा ।

हरेक हप्ताको शुक्रबार कलेज सकेर तीन घण्टा लामो ड्राईभमा काम गर्न टेक्सास आउन थाले । स्मोक शपमा काम कठिन त थिएन । बिभिन्न प्रकारका हुक्का, वाटर ग्लास र सिसाको चिलिम ग्राहकलाई खुशी बनाएर बेच्नुपर्थ्यो । त्यहाँ काम गरे बापत घण्टाको $७.२५ मिल्थ्यो जुन अमेरिकाको न्युन तम पारिश्रमिक हो । हप्ताभरी कमाएको पैसा गाडीको इन्सुरेन्स र तेल हाल्नलाई ठिक्क हुन्थ्यो । दुई सेमेस्टर त्यसैगरी बित्यो ।

टेक्सास सरेपछी दैनिकी मोडियो । ग्याँस स्टेसनमा काम गर्न थालियो । मान्छेबाट मेशिनमा बदलियो मेरो जिन्दगी । मुस्किलले पाँच घण्टाको सुताइ हुनथाल्यो । कलेजमा हुँदा दिनहुँ असाईमेन्ट गर्‍यो, नहुँदा काम दगुर्यो । काम सँगै कलेजमा ग्रेड मेन्टेन गर्नु अमेरिकामा ठुलो चुनौती हो । ग्रेड मेन्टेन गरेन भने स्कोलरशीप खोसिन्छ, काम गरेन भने पेट भोको बस्छ । अब त सुत्नु भन्दा अगाडी कति घन्टा सुत्न पाईन्छ भनेर औँला भाँच्ने बानी परिसक्यो ।

चाड पर्बमा समय निकालेर साथीभाई भेट्न पनि मुस्किल पर्छ, सँगै अपार्टमेन्टमा बस्ने साथीसँग पनि हप्ताको दुई पटक मात्र मुस्किलले भेट हुन्छ । बेलुका मध्यरात सम्म काम गर्‍यो,  बनाउन जाँगर भएसम्म घरमा खानाखायो, कि टाकोबेल छिरेर म्याक्सिकन बुरिटोज खायो अनि सुत्यो । कोहीसँग लविङ गर्ने फुर्सदनै हुँदैन । चाड पर्ब बिशेष कार्यक्रम नहुने पनि होईन तर जान न समय छ नत फुर्सद नै ।

यतातिर मनमा यस्ता तर्कना चल्दैथियो । आमा बोल्नु भयो- 'बाबु सुनिराछौ ?' मैले सुन्दै छु भनेर जबाफ फर्काएँ । उता भैलिनीहरु चर्को स्वरमा भट्टाउदै थिए-

ए साईकलको घण्टी,`~~~ देउसुरे ~~

ए घरपेटी अन्टी, ~~ देउसुरे ~~

ए दक्षिणा ल्याउनुस्, ~~ देउसुरे ~~

ए छानो माथी घिराउँला ~~देउसुरे ~~

ए छोराले पठाको डलर हेरूँला ~~देउसुरे~~

ए ल्याए ल्याए ~~~ देउसुरे

कानमा सिउरेको ब्लुटुथमा घरको आँगनीमा नाचगान गर्दै गरेका देउसीको टोलीलाई सुन्दै म यता स्टोरमा सरसफाई गर्दै थिएँ । दक्षिणामा डलरको माग सुन्दा ओठमा मुस्कान छायो । पैसाको मामिलामा घरमा भन्दा आफन्त र छर-छिमेकिलाई कति कमाउँछ र कती पठाउँछ भन्ने चासो बढी हुन्छ । मलाइ आज सम्म घरमा डलर पठाउने साईत जुरेको छैन । कहिले काहिँ घरबाट डिमान्ड आउँदा ग्याजेट पठाईदिन्छु त्यो अलग कुरा हो । घरमा कुरा गर्दा पैसाको कुरा कहिलेपनि निस्किन्न ।

'राम्रो ग्रेडमा ब्याचलर गर्, पैसाको पछि नलाग्' बाबाको यो डाईलग प्राय सुन्नुपर्छ । जे जस्तो होस्, अमेरिकाले जिन्दगी देखाएको छ । कम्तिमा आफ्नै खुट्टामा उभिँन सिकाएको छ । कहिलेकाहिँ काम र पढाईको चापबाट बिश्राम लिँदै साथीभाईसँग घुम्न निस्किदा थकित हाँसो देखाउँदै फेसबुकको भित्तामा कसरी रङिन पार्ने सिकाएको छ ।

तर यथार्थ, फेसबुकको भित्तामा देखिएको जस्तो रंगीन छैन अमेरिका ।

- टेक्सस, अमेरिका