विचार / ब्लग

अमेरिकामा नेपाली विद्यार्थीका पीडा

48605 पटक पढिएको

– रामचन्द्र भट्ट | 16th Sep 2016, Friday | २०७३ भाद्र ३१, शुक्रबार ०५:१९
एकजना चिनेजानेका दाईले गत साता फोन गर्नुभयो । ‘ल छोरालाई तपाई नजिकैको राज्यमा पढ्न पठाउँदैछु । यसो कामसाम खोजिदिने र बस्नको लागि केही दिन साथी मिलाईदिनुपर्ला जस्तो छ,’ उहाँ दुई बाक्यमै फोन गर्नुको मुल उद्वेश्यमा पुग्नुभयो । 
 
‘सकेको गरौंला नि दाजु । तर विद्यार्थीका लागि अमेरिका असाध्यै कठिन छ । सुरुमै ठूलो अपेक्षा चाँही नलिन र जस्तोसुकै कठिन अवस्थामा पनि नआत्तिनको लागि बाबुलाई सम्झाएर पठाउनुहोला,’ मैले पनि दुई बाक्यमै वस्तुस्थिती बताए । मेरो कुरा दाईले कति  बुझ्नुभयो वा बुझ्नुभएन सोध्न पनि सकिन । उहाँले पनि थप प्रष्ट्याउन माग गर्नुभएन । 
 
धेरै अभिभावकलाई लाग्छ–‘अमेरिका पुगेपछि छोराछोरी भनेका सुनका अण्डा पार्ने कुखुरी हुन् । जसले नियमित रुपमा अण्डा दिइराख्छे ।’ छोराछोरीले पनि त्यही सोच्छन् अमेरिकाको विमानस्थलमा नआइपुगेसम्म । जब कलेजमा भर्ना भएर कामको खोजीमा पस्छन् अनि यहाँको यथार्थता, कठिनता बुझेपछि छर्लङ्ग हुन्छन् । 
 
केही वर्षयता उच्च शिक्षा अध्ययनका लागि नेपालीका निम्ति अमेरिका आकर्षक गन्तव्य भएको छ । हरेक वर्ष अमेरिका आउने विद्यार्थीको ओइरो लाग्न थालेको छ । 
 
अमेरिकामा उच्चशिक्षा हाँसिल गर्न आउनु नेपालीका लागि रहरमात्र होइन प्रतिष्ठाको विषय पनि हुन थालेको छ । क्षमताले नभ्याएपनि अर्काको देखासेखीमा पनि आफ्ना छोराछोरीलाई अमेरिका पढ्न पठाउने नजानिदो होड चलेको छ नेपालमा । गाउँ समाजमा इज्जत प्रतिष्ठा राख्नकै लागि भएपनि छोराछोरी अमेरिका पठाउनुपर्ने वाध्यतामा गुज्रिन थालेका छन् अभिभावकहरु । 
 
‘आ, रहर त गरिहाले । पठाइदिउँ न, अमेरिका पुगेर कमाउन थालेपछि त अहिले लागेको ऋण तिरिहाल्छन् नि उनैले,’ यही मानसिकता छ धेरै अभिभावकहरुको । 
 
अर्को सेमेस्टरका लागि तिर्ने कलेजको शुल्क जुटाउन समेत यहाँ काम खोज्नुपर्ने अवस्थाका अभिभावकले समेत छोराछोरी अमेरिका पठाउने तीब्र होडबाजी देखिन्छ । 
 
अमेरिका उच्च शिक्षाका लागि आउने विद्यार्थी र तिनका अभिभावकले बुझ्नुनैपर्ने तथ्य के हो भने उनीहरुले वैधानिक रुपमा यहाँ काम गर्न पाउँदैनन् । जिज्ञासा उब्जन सक्छ–‘उसो भए फलानाको छोराले कसरी काम गरेर यहाँ घर बनाउने पैसा पठायो ?’ अथवा ‘ढिस्कानाकी छोरीले कमाएर पठाएको पैसाले यहाँ कसरी उसको दाजुको बिहे धुमधामसँग भयो ?’
 
हो केहीलाई भाग्यले साथ दिएको छ र कोही सहयोगी आफन्त अमेरिकामा छन् भने उनीहरुको सहयोगले कलेजको समयभन्दा अघिपछि काम गरेर डलर कमाउन पनि सक्छन् विद्यार्थीले । तर उनीहरु (विद्यार्थी) सँग काम गर्ने वैधानिक कागजपत्र, जसलाई ‘वर्क परमिट’ भनिन्छ त्यो हुँदैन । वर्क परमिट बिना अमेरिकामा काम गर्ने र गराउने दुबै पक्ष गैर कानुनी मानिन्छन् । वर्क परमिट बिना काम गर्ने विद्यार्थीलाई उसलाई पक्रिएर नेपाल फिर्ता पठाउन समेत अमेरिकी अध्यागमनले सक्छ भने काम गराउनेलाई चर्को जरिवाना तिराउनसक्छ ।
 
जतिले काम गरिरहेका छन् तिनले गैर कानुनी ढंगमा गरिरहेका हुन् । अनि जतिले लगाइरहेका छन् तिनले पनि कानुन मिचेका छन् । यसो हुँदा दुबै पक्षको घाँटीमा तरबार झुण्डिएको हुन्छ । जो जुनसुकै बेला पनि बज्रिनसक्छ । नबज्रिएको घडीसम्म त मज्जै हुन्छ । जब बज्रिन्छ त्यसको असर भयावह हुन्छ । 
 
अर्को सन्दर्भ ।
‘मेरो छोरी ओक्लाहोमाको एउटा युनिभर्सिटीमा अध्ययनका लागि आउँदैछिन् । यसो काम खोजिदिएर सहयोग गरिदिनुहोला,’ कुनैबेलाका एक सहकर्मीले यो संवाददातालाई एक महिना अघि अनुरोध गरे । 
 
ओक्लाहोमाको एडास्थित युनिभर्सिटीमा आउँदै गरेकी ती विद्यार्थी र उनका अभिभावकलाई कसरी जानकारी होस् त्यो ठाउँ एउटा गाउँ हो भनेर । पढाईपछिको समयमा काम गर्ने उनको योजना रहेछ । तर गाउँमा युनिभर्सिटी भएकोले काम पाउने संभावना असाध्यै कम छ । त्यसमाथि माथिनै उल्लेख भैसक्यो कि विद्यार्थीसँग वैधानिक रुपमा काम गर्ने ‘वर्क परमिट’ समेत नहुने भएकोले काम दिनेलाई समेत कारवाही हुन्छ । 
 
नेपाली विद्यार्थीले काम गर्ने भनेको युनिभर्सिटीभन्दा टाढा गएर साप्ताहिक बिदाको समयमा हो । त्यसमाथि उनीहरुले काम पाउने भारतीय, पाकिस्तानी, बंगलादेशी र नेपालीले चलाएका ग्याँस स्टेसन, ग्रोसरी स्टोर र रेस्टुँरा हो । त्यो पनि वर्क परमिट नभएका कारण ज्यादै कम पारिश्रमिक (घण्टाको ७ डलर २५ सेन्टदेखि लिएर साँढे आठ डलरमात्र) दिन्छन् व्यबसायीहरुले । 
 
ओक्लाहोमाका युनिभर्सिटीहरुमा नेपाली विद्यार्थीको चाप बढेका कारण वरिपरि काम पाउने संभावना छँदैछैन भन्दा पनि हुन्छ । त्यसो हुँदा अधिकांश विद्यार्थीहरु एक सेमेस्टर पुरा गरेपछि टेक्सस, भर्जिनिया, कोलोराडो लगायतका राज्यहरुमा सस्तो युनिभर्सिटी खोज्दै सर्ने गर्छन । 
 
धेरै राज्यमा आएका नेपाली विद्यार्थीको हविगत उस्तै हो । एक ठाउँमा काम पाइएन भनेर अर्को सेमेष्टरमै अर्को राज्य सर्ने, सस्तो कलेज खोज्ने तीब्र प्रतिस्पर्धा छ । कतिले त आर्थिक अभावमा कलेज ड्रप गरेर अर्कै राज्यमा गएर काम गरिरहेका पनि छन् । जुन सिधै गैर कानुनी हो । 
 
कम्प्युटर साइन्स, ब्यबस्थापन, इन्जिनियरिङ विधामा सबैभन्दा बढी नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि अमेरिका आउने क्रम बढेको छ ।  
नेपाली विद्यार्थीहरु बढी आउने राज्यहरुमा ओक्लाहोमापछि टेक्सास, आयोहा, मिसिसिपी, जर्जिया, क्यालिफोर्निया, भर्जिनिया मुख्य छन् । टेक्ससको ड्यालस र ह्युस्टन नेपाली विद्यार्थी आउने अर्को ठूलो गन्तव्य हुन् । 
 
अहिले नेपालबाट स्नातक र पिएचडीका लागि भन्दापनि ‘प्लस टू’ पास गरेपछि स्नातक अध्ययन गर्नका लागि आउने विद्यार्थी ह्वात्तै बढेका छन् । 
काठमाडौं स्थित शिक्षा मन्त्रालयका अनुसार, उच्च शिक्षाका लागि अमेरिकामा जाने बिद्यार्थी हरेक बर्ष बढ्दै छ । गत आर्थिक बर्ष २०७१/७२ मा २८ हजार ७ सय ६३ विद्यार्थीले विदेश अध्ययनका लागि ‘नो–अब्जेक्सन लेटर’ लिएकोमा दुईहजार तीनसय ६३ अमेरिकाका लागि थिए । आव २०७०/७१ मा यो संख्या एकहजार चारसय ५६ थियो । 
 
नेपाली विद्यार्थीका लागि जापान र अष्ट्रेलियापछि तेस्रो गन्तव्य अमेरिका रहेको शिक्षा मन्त्रालयको तथ्यांकले देखाउँछ । उच्च शिक्षाका लागि बेलायत जाने क्रम घट्दो छ भने अमेरिकाको दर बढ्दो छ । 
 
आर्थिक बर्ष २०६५/६६ मा अमेरिकामा रहेका विदेशी विद्यार्थीमध्य नेपाली ११ औैं स्थानमा थिए । सो बर्ष अमेरिकामा ११ हजार पाँचसय ८१ नेपाली विद्यार्थी अध्ययनरत थिए । अघिल्लो बर्षभन्दा सो बर्ष नेपाली विद्यार्थीको संख्या ३० प्रतिशतले बढेको थियो । अमेरिकामा बाहिरबाट आउने विद्यार्थीमध्य सबैभन्दा ठूलो संख्या भारतीयको छ । भारतीयपछि दोस्रो नम्बरमा चिनिया छन् । 
 
सहज छैन अमेरिका:
नेपालबाट अमेरिका सहज ठानेर विद्यार्थीहरु ओइरिने गरेपनि यहाँ सहज भने छैन । अधिकांश विद्यार्थी काम गर्दै अध्ययन गर्ने चाहना बोकेर आउने हुँदा उनीहरुलाई यहाँको बसाई असहज हुँदै गएको देखिन्छ ।
 
विदेशी विद्यार्थीहरुले काम पाउन अमेरिकामा निकै गार्यो छ । वैधानिक रुपमा काम गर्ने अनुमतिपत्र (वर्क परमिट) उनीहरुसँग नहुने कारणले गर्दा काम मिल्दैन । गत वर्ष नेपालमा गएको महाभुकम्पका कारण नेपालीलाई अमेरिकी सरकारले दिएको टेम्पोररी प्रोटेक्ट स्टाटस (टिपिएस) मा आवेदन गरेकाले वर्क परमिट पाएका छन् । टिपिएस लिने विद्यार्थीले वैधानिक रुपमा काम गर्न पाएका छन् । तर कलेजको समय, कामको समय मिलाउन कठिन पर्ने समस्या छदैछ । 
 
अमेरिकामा काम पाइन्छ भनेर आउने विद्यार्थीहरु केही समयपछिनै काम नपाएपछि तनावमा हुनेगर्छन । वर्क परमिट बिना काममा लगाउनु गैर कानुनी हुने भएकाले कोही पनि रोजगारदाताले विद्यार्थीलाई काम दिदैनन् । भारतीय, पाकिस्तानी, बंगलादेशी, नेपालीले सञ्चालन गरेका रेष्टुरेन्ट, स्टोर, ग्याँस स्टेसनमा काम पाइहालेपनि ज्यादै कम पारिश्रमिक (राज्यले तोकिदिएको न्यूतमम भन्दा पनि थोरै) पाउँछन् । 
 
‘मज्जाले दिनको १८ घण्टा काम गर्छु, कलेजको फि तिर्छु र नेपालमा पनि खर्च पठाउँछु भनेर कोही विद्यार्थी आउँछ भने त्यो महागल्तीमात्र होइन पछुताउनुपर्ने अवस्था आउँछ,’ नाम सार्वजनिक गर्न नचाहने एक नेपाली व्यबसायीले भने । 
 
काम नमिलेपछि र नेपालबाट अभिभावकहरुले पैसा पठाउन नसकेपछि नेपाली विद्यार्थीहरुले एक सेमेष्टरपछिनै विश्वविद्यालय / कलेज फेरेर काम पाउने राज्यमा सर्ने प्रवृत्ति बढेको छ । त्यसका साथै केही विद्यार्थीले भने विश्वविद्यालयको पढाई छाडेर सस्तो ‘कम्युनिटी कलेज’ मा भर्ना हुन थालेका छन् । 
 
‘यहाँ कामनै पाइएन, नेपालबाट बाबुआमाले सधैंभरि पैसा पठाइरहन संभव पनि छैन । त्यही भएर काम खोज्नकै लागि भरखरै टेक्सस सरियो,’ गत वर्ष ओक्लाहोमाको उत्तरमा पर्ने ओक्लाहोमा स्टेट युनिभर्सिटीमा अध्ययनको लागि आएका एक नेपाली विद्यार्थीले भने । सुरुमा यो राज्यमा आउने र एकाध सेमेष्टरपछि अर्को राज्यका सस्ता कलेज / विश्वविद्यालयहरुमा सर्ने प्रवृत्ति बढ्दो छ । 
 
आफन्त र भरपर्दो साथी हुँदा सहजः
अमेरिकामा अध्ययनका लागि आउँदा आफन्त वा भरपर्दा साथी हुनेलाई भने माथि उल्लेखित अप्ठेरो नपर्न सक्छ । आफन्त हुनेका लागि काम खोजिदिन, बेलाबखतमा कलेजसम्म पु¥याउने काममा ठूलो सहयोग गर्नसक्छन् । 
 
त्यस्तै २/३ वर्ष पहिलेदेखि कोही साथी अमेरिकामै छ भने पनि उसले सहयोग गरिदिएको खण्डमा विद्यार्थीलाई सजिलो पर्छ । विशेषगरि छात्राको हकमा अपार्टमेन्टमा बस्ने, कलेजसम्म ल्याउने ल्याइदिने कोही भएनन् भने निकै अप्ठेरो भोग्नुपर्छ । अभिभावकहरुले नेपालबाट आफ्ना छोरीहरुलाई अमेरिका पठाउँदा सबैभन्दा बढी संवेदनशील हुनैपर्छ । ‘छोरा र छोरी एकै त हुन् नि’ भनेर क्रान्तिकारी त हुन सकिएला । तर यथार्थतामा असाध्यै भरपर्दो सहयोगी अमेरिकामा नहुँदा धेरै नेपाली छात्राहरुले भोगेको कठिन अवस्थालाई यो टिप्पणीकारले पनि धेरै नजिकबाट देखेको छ । 
 
अमेरिका अध्ययनका लागि आउने विद्यार्थी र अभिभावकहरुले सोच्नुपर्ने विषय के हो भने–‘जस्तोसुकै कठिन परिस्थितीमा पनि जुध्न तयार हुन्छु । अनि जस्तोसुकै काम गर्न पनि तम्तयार रहनेछु ।’ काम गर्ने अनुमतिपत्र बिना काम गर्नु जोखिम भएपनि घाम जस्तै छर्लङ्ग तथ्य यो हो कि–लुकिछिपी काम गरेर त्यसैबाट अध्ययनलाई अघि बढाउँछन् विद्यार्थीले । यस्तो अवस्थामा नेपालबाट अभिभावकले छोराछोरीबाट आर्थिक अपेक्षा राख्दा विद्यार्थीमा मानसिक समस्या समेत बढेर अध्ययननै रोकिएका थुप्रै घटना छन् ।