मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विनोद चौधरीसँग शनिबार ड्यालसमा अन्तरकृया हुँदै

विनोद चौधरीसँग शनिबार ड्यालसमा अन्तरकृया हुँदै


ड्यालस (अमेरिका)– नेपालका मल्टिनेसनल बिलिनियर' विनोद चौधरी यही अगष्ट २० तारिक अमेरिकाको ड्यालस आउने भएका छन्। 
 
गैर आवासीय नेपाली संघ (एनआरएन) टेक्सस च्याप्टरको आयोजनामा हुने अन्तरकृयामा सहभागी हुन चौधरी ड्यालस आउन लागेका हुन्। एनआरएनको न्यूजर्सीमा हुन लागेको क्षेत्रीय सम्मेलनका लागि अमेरिका आउने क्रममा चौधरी अमेरिकामा बिभिन्न शहरमा आयोजना हुने छलफलमा सहभागी हुनेछन्। 
 
चौधरीजीसँग हामी नेपालीले सिक्नुपर्ने थुप्रै व्यबसायीक कुराहरु छन्,' एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले भने। खुद्रा व्यापारदेखि होटल, हाउजिङको समेत अनुभव रहेका चौधरीको अनुभवले प्रवासमा रहेका नेपाली व्यवसायीलाई समेत फाइदा पुग्ने विश्वास एनआरएनको छ। 
 
ड्यालसको अर्बिङस्थित नेपाली समाज टेक्सस' को हलमा छलफल कार्यक्रम हुनेछ। साँझ ५ बजेदेखि सुरु हुने उक्त छलफलमा इच्छुक नेपालीलाई सहभागी हुन एनआरएन टेक्ससले आग्रह गरेको छ। उक्त कार्यक्रममा विनोद चौधरी द्वारा लिखित किताबमा हस्ताक्षर गरिने कार्यक्रम पनि छ I 
 
चौधरी नेपालका पहिलो बिलिनियर हुन्। उनीसँग अनुभवको आदान प्रदान गर्दै यहाँ लगानीका क्षेत्रका बारेमा समेत छलफल गर्ने कार्यक्रम छ,' एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष उत्तम लामिछानेले भने। चौधरीले कसरी व्यबसायको क्षेत्रमा स्थापित हुन सफल हुन सके भन्नेदेखि लिएर उनका संघर्षका कथाहरु समेत छलफलमा राख्नेछन्। 
 
कपडा व्यापारबाट सुरु भएको चौधरी ग्रुपले अहिले नेपाल र बाहिरका देशहरुमा समेत चाउचाउ, होटल, रिटेल व्यापार, आवास परियोजनामा अर्बौ डलर लगानी गरेको छ। वाइवाई चाउचाउले चौधरी ग्रुपको व्यबसाय र साखलाई ह्वात्तै माथि बढाउन ठूलो भूमिका निर्वाह गरेको छ। 
 
चौधरी अमेरिकामा समेत लगानीका गर्ने तयारीमा छन्। उनले सूचना प्रविधिको सिटी सिलिकन भ्यालीमा लगानी गर्ने घोषणा गरिसकेका छन्। त्यस्तै नेपालीहरुको सबैभन्दा बसोबास रहेको राज्य टेक्ससमा समेत उनले लगानीको क्षेत्र खोजी गरिरहेका छन्।
 
अमेरिकामा समेत चौधरी ग्रुपको उत्पादन वाइवाइ चाउचाउ निकै लोकप्रिय छ। नेपाली, भारतीय र भुटानी समुदायमा वाइवाइको उच्च माग छ। ड्यालसपछि चौधरीसँग एनआरएन अमेरिकाले लसएन्जलस, सिकागो, बोस्टन र बाल्टिमोरमा अन्तरकृया गर्ने भएको छ।
 
ड्यालसको कार्यक्रममा एनआरएन आइसिसीका उपाध्यक्ष कुमार पन्त समेत सहभागी हुनुहुने भएको छ ।