प्रवास

टेक्सासमा ड्यालसका व्यापारीहरू एकजुट, यती च्याम्बर अफ कमर्सको जन्म (फोटो फिचर)

2549 पटक पढिएको

हिमालय खबर संबाददाता | 2nd Sep 2015, Wednesday | २०७२ भाद्र १६, बुधवार १०:१७
हिमालय खबर I ड्यालस, टेक्सास/भदौ १५ 
बर्षौं देखिको लामो प्रयास पछि अन्तत: अमेरिकाको  ड्यालस सहरका ब्यापारीहरु एकजुट भएका छन् । नेपालीहरूको घना बस्ती रहेको  ड्यालस सहरमा बसोबास गरी विभिन्न व्यवसायमा संग्लग्नरहेकाहरुलाई उद्धोग वाणिज्य सङ्घको अवधारणामा  ऐकेबद्धता गर्ने नेपाली समाज, टेक्सासको प्रयासले मुर्त रूप पाएको छ । ब्यापारीहरुको हकहित र अधिकारका पक्षमा आवाज उठाउने उद्देश्य बोकेर जन्मिएको यो नयाँ संस्थाको नाम यती च्याम्बर अफ कमर्स जुराइएको छ ।
 
संस्थाद्वारा हालै आयोजना गरिएको पहिलो औपचारिक परिचय तथा रात्रि भोज कार्यक्रममा  यती च्याम्बर अफ कमर्सको  नाम, संस्थाको लोगो, विधान, र उद्देश्यहरू घोषणा गरिएको थियो । 
 
 ड्यालस सहर र यस वरिपरिका नेपाली उद्धमीहरुलाई एक छत्र छायामा ल्याउने प्रयास विगत एक दशक बढी देखि हुँदै आएको थियो । यो क्षेत्रको अग्रणी संस्था नेपाली समाज, टेक्सासको लामो प्रयास पछि यो कार्य सम्भव भएको जानकारी समाजका सभापति  आचार्यले दिएका छन् । गत शनिवार सम्पन्न पहिलो रात्रि भोजमा सहभागी उद्धमीहरुलाई स्वागत तथा कार्यक्रमको सफलताको कामना गर्दै  सभापति  आचार्यले च्याम्बरको यो अवधारणाले यो नेपाली ब्यापारीहरुलाई दिर्घकालिनरुपमा विभिन्न तरिकाले फाइदा हुने बताए  ।
 
शुभकामना मन्तव्य दिने क्रममा नेपाली समाजका निबर्तमान सभापति डा. प्रेम अधिकारीले यती च्याम्बर अफ कमर्सको जन्म पूर्वको पृष्ठभूमि सुनाउदैं आजको दिन सम्म आइपुग्न  ड्यालसका धेरै नेपाली अगुवाहरुको योगदान रहेको चर्चा गरे ।
 
यती च्याम्बर अफ कमर्सको पहिलो कार्यसमितिका एक कार्यकारी निर्देशक अनजान श्रेष्ठले संस्थाको उद्देश्य र यसले समुदायलाई दिन सक्ने फाइदाका विषयमा व्याख्या गरेका थिए ।
 
यती च्याम्बरकै अर्का कार्यकारी निर्देशक भीम कार्की,सिपियले संस्थाको विधान र आगामी कार्ययोजनाका विषयमा विशेष छलफल गरेका थिए । कार्यकारी निर्देशक सिता सापकोटाद्वारा स्वागत गरिएको उक्त्त कार्यक्रमको उद्घाटन चार वर्षीय शान्शा गुलाटीले पानशमा दीप प्रज्वलन गरी गरेकी थिइन भने कार्यक्रमको संचालन बाल जोशीले गरेका थिए ।
 
कार्यक्रमको अन्तमा  गायिका  नलिना चित्रकार गायक  सरोज दत्त लगाएत थुप्रै कलाकारहरुले  भरिपूर्ण मनोरंजन  गराएका  थिए  I