मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

अब पुनस्र्थापनामा केन्द्रित हुन्छौं – हरिबोल भण्डारी

अब पुनस्र्थापनामा केन्द्रित हुन्छौं – हरिबोल भण्डारी


हरिबोल भण्डारी, केन्द्रीय सदस्य, नेपाली जनसम्पर्क समिति, अमेरिका 
 
वैशाख १२ गतेको भूकम्पलगत्तै पीडितहरूको राहतका लागि नेपाल आउनुभयो, यहाँ आएर के–के गर्नुभयो ?
 
वैशाख १२ को भूकम्प आउँदा अमेरिकामा रातको समय थियो । खबर पाएलगत्तै बिहान सबेरै हामीले जनसम्पर्क समितिको आपत्कालीन बैठक राख्यौ । अमेरिकाभर समितिका २६ च्याप्टरहरू छन्, तिनलाई हामीले राहतको लागि आर्थिक संकलन गर्न निर्देशन दियौं । एउटा टिम बनाएर नेपाल आउने र पीडितहरूलाई प्रत्यक्षरूपमा सहयोग गर्ने योजनाअनुरूप हामी सहयोग संकलनमा जुट्यौं । चार–पाँचदिनभित्रै हामीले ८० हजार अमेरिकी डलर संकलन गर्न सफल भयौं । त्यसपछि वैशाख १२ को भूकम्प गएको एक हप्ता बित्न नपाउँदै अध्यक्ष आनन्द विष्टजीको नेतृत्वमा, उपाध्यक्ष धर्मराज श्रेष्ठ र म सम्मिलित तीनजनाको टिम नेपालमा आयौं । आउनेबित्तिकै राहत वितरणका कार्यक्रमहरू सुरु गर्‍यौं । राहत वितरणकै क्रममा थियौं, वैशाख २९ गते एक्कासि ठूलो भूकम्प गयो । भूकम्पको त्रास कस्तो हँुदो रहेछ भन्ने हामी आफैंले पनि महसुस गर्‍यौं ।
 
भ्रातृ संगठनको नाताले तपाईंहरूलाई पार्टीले पनि राहत रकम संकलनको जिम्मेवारी दिएको थियो, हैन र ?
 
पार्टीले भन्नुअघि नै हामीले सहयोग संकलनको कार्य थालिसकेका थियौं । त्यही क्रममा पार्टी महामन्त्री कृष्ण सिटौलाज्यूले पार्टीको दैवी प्रकोप राहत कोषका खातामा रकम जम्मा गर्नू भन्ने परिपत्र गर्नुभयो । त्यसभन्दा पहिले नै हामीले नेपाल गएर राहत वितरणको लागि समिति बनाएका थियौं । त्यही अनुरूप हामी नेपाल आयौं । र, पार्टीको निर्देशन मानेरै हामीले आफूसँग ल्याएको १८ लाख रुपैयाँ पार्टीको खातामा जम्मा पनि गर्‍यौं र अरू पैसा आउनेक्रम जारी छ । उता संकलन भएको पैसा एकैपटक ल्याउन नमिल्ने भएकोले पनि यसमा एकैपटक रकम जम्मा गर्न नसकिएको हो ।
 
रकम समितिका सदस्यहरूबाट उठाउनु भएको हो ?
 
सदस्यबाट मात्रै हामीले उठाएका होइनौं । इच्छुक सबैबाट हामीले उठाएका हौं । त्यसमा पनि विशेषगरी अमेरिकामा सक्रिय अन्य सामाजिक संघसंस्थासँग सहकार्य गर्‍यौं । जस्तो सिंगापुरको जिस्ट फर निड्स, अमेरिकाको नर्थ फेस भिक्टिम भ्यान, त्यस्तै हाम्रो पूर्वसांसद पासाङ शेर्पाको पनि संस्था छ उहाँहरूसँग पनि हामीले सहकार्य गरेर, काभ्रे धादिङ, काठमाडौंका विकट ठाउँहरू लगायतका प्रभावित स्थानहरूमा राहत वितरण गर्‍यौं ।
 
समितिको बैठकमा संकलित रकम पार्टीलाई दिनु हँुदैन भन्ने मत बलियो भएको सुनियो, वास्तविकता के हो ?
 
त्यस्तो केही भएको हैन । पार्टीसँग समन्वय गरेर जाने भनेर केन्द्रीय समितिबाट एक स्वरले पास भएको हो । जनसम्पर्क समिति नेपाली कांग्रेसको भ्रातृ संगठन भएकोले यसले पार्टीको निर्देशनलाई पूर्णरूपमा कार्यान्वयन गर्नुपर्छ र गर्छ नै । मात्र के भएको हो भने, पार्टीको निर्देशन आउनुपूर्व नै हामीले राहत रकम संकलन गरिसकेका थियौं आफैं गएर बाँड्ने भनेर । त्यसैले हामीले पार्टीको खातामा रकम जम्मा गर्नुका साथै आफैं यहाँ उपस्थितसमेत हुनु परेको हो ।
 
यहाँ आएर कति मूल्य बराबरको राहत वितरण गर्नुभयो ?
 
विभिन्न स्थानबाट हामीलाई प्राप्त सामग्री जो हामीले वितरण गरेका थियौं त्यो करिब ४० देखि ५० लाखसम्मको थियो होला । सुरुमा पाल, त्रिपाल, चामल, नुन, तेल, गाँस, बास, कपासको आवश्यकता थियो र हामीले पनि त्यतैतिर फोकस गर्‍यांै । पछिल्लो चरणमा अस्थायी बासस्थान निर्माणमा फोकस गर्‍यौं । अन्य संंस्थाहरूसँगको सहकार्यमा काठमाडौंका विकट बस्तीहरूमा ४५ वटा अस्थायी टहरा निर्माण गरेका छौं । मैले व्यक्तिगत रूपमा नयाँपाटीको रामजानकी विद्यालयको पुनर्निर्माणको लागि एउटा ट्रस्ट निर्माण गर्नमा सहयोग गरेको छु । अब हामी दोस्रो चरणको योजना बनाएर पुनर्निर्माण, पुनर्वास र सार्वजनिक विद्यालयको पुनस्र्थापनमा केन्द्रित हुन्छौं । हामी गएपछि अब अमेरिकाबाट आउने दोस्रो टिम यसमा केन्द्रित हुन्छ ।
 
राहत वितरणको सिलसिलामा तपार्इं आफैं भूकम्प प्रभावित धेरै स्थानहरूमा जानुभयो, त्यहाँको अवस्था कस्तो पाउनुभयो ?
 
वास्तवमा कतिपय ठाउमा स्थिति अझै पनि दयनीय नै छ भने सुगम ठाउँहरूमा पर्याप्त राहत पुगेको पाएँ । निजी संस्थाहरू बढीजसो सुगम स्थानमै केन्द्रित हुनाले दुर्गमका पीडितहरू तुलनात्मक रूपमा अप्ठेरो अवस्थामै छन् । दुर्गममा राहत पुर्‍याउन सरकारी संयन्त्रले सराहनीय काम गरिरहेको छ । नेपाल प्रहरी, आर्मी, सशस्त्रलगायत सुरक्षा निकायले विकट ठाउँमा गएर पनि राहत बाँडेको पायौं । यस अर्थमा सरकार धन्यवादको पात्र छ ।
 
पुनर्निर्माणको काम कसरी सम्भव होला ? तपाईंहरूले सरकारलाई यस बारेमा कस्तो सुझाव दिनुहुन्छ ?
 
म के भन्न चाहन्छु भने यो सबै कामहरू राज्यले एकद्वार प्रणालीअन्तर्गत गर्नुपर्छ । स्रोत, साधन संसारभरबाट जुटाए पनि पुनर्निर्माणको नीति, योजना र नेतृत्व राज्यकै हुनुपर्छ । एकद्वार प्रणालीबाटै स्रोतसाधनको परिचालन हुनुपर्छ । तर, सरकारले आफ्नो चुस्तता बढाउनु पनि उत्तिकै आवश्यक छ । जस्तो अहिले जस्ता किन्नलाई १५ हजार रुपैयाँ दिने निर्णय भएको छ , यसमा पनि कठिनाइ आएको मैले देखेको छु । त्यसैले सरकारले तदारूकता साथ काम गर्नको लगि एउटा विशेष प्राधिकरण वा छुट्टै निकाय बनाउन आवश्यक छ ।
 
तपाईंले एकद्वार प्रणालीबाट गर्नुपर्छ भन्नुभयो तर गैरसरकारी, अन्तर्राष्ट्रिय संस्थाहरूले त यसको विरोध गरेका छन् नि ?
 
भूकम्पलगत्तै सुरुवातको राहत कार्यक्रममा एकद्वार प्रणाली लागू गर्नु हँुदैनथियो । त्यसको हामीले पनि विरोध गरेका हौं । तर राहत र उद्धारको काम सकिएपछि पुनर्निर्माणको चरणमा भने हामीले एकद्वार नीति अवलम्बन गर्नैपर्छ । देशलाई कस्तो बनाउने भन्ने जिम्मेवारी राज्यको हो, त्यसको नेतृत्व राज्यले लिनुपर्छ । यद्यपि राज्यले काम गर्दा पारदर्शिताको नीति भने अवलम्बन गर्नैपर्छ । दिनेलाई लागोस्, मैले दिएको एकएक रकमको सदुपयोग भएको छ । त्यसैले सरकारले एकएक पैसाको हिसाब देखाएको पुनर्निर्माण र पुनस्र्थापनाको नेतृत्व कुशलतापूर्वक सम्हाल्नु पर्छ ।
 
प्रसंग बदलौं, नेपाली कांग्रेसको भ्रातृ संगठनको दर्जा पाए पनि जनसम्पर्क समिति अमेरिकामा गैरकांग्रेसीहरू हावी भएका छन् भन्ने चर्चा सुनिन थालेको छ नि ?
 
हैन, त्यो बिल्कुलै गलत कुरा हो । किनभने जनसम्पर्क समितिको विधानअनुसार तीन हजारभन्दा बढी सदस्यहबाट निर्वाचित भएको कार्यसमिति कसरी गैरकांग्रेसी हुन सक्छ ? हजार जनाभन्दा बढी प्रतिनिधिले निर्वाचित गरेको कार्यसमितिमा कसरी गैरकांग्रेसी आउन सक्छन् ? टीका लगाएर, मनोनीत गरेर ल्याएको भए त्यो आरोप लगाउने आधार पनि बन्थ्यो होला तर जसले प्रतिनिधिहरूको मन जितेर चुनाव जिते उनीहरूलाई कसरी गैरकांग्रेसी भन्ने ?
 
यसपटक जनसम्पर्क समितिको अधिवेशनमा दुईवटा पार्टी गुटको चुनाव भयो भन्ने सुनियो नि ?
 
चुनावभन्दा अगाडि दुईवटा गुटमा विभाजित थियो समिति र अधिवेशनको चुनाव पनि दुईवटा गुटकै बीचमा भएको थियो । तर चुनावपछि दुवै गुटका साथीहरू समानुपातिक रूपले प्रतिनिधित्व गर्नुभएको छ र अहिले भर्खरै कमिटी गठन भएको छ । अहिले राम्रा कामहरू हुँदै आएका छन् । जस्तो भूकम्पपीडितहरूको लागि राहत तथा सहयोग गर्नु पनि राम्रै काम हो । त्यसैले अहिले एकदुुई वर्ष गुट, उपगुट नभनेर कामै गरांै भन्ने लाग्छ र साथीहरूको भनाइ पनि त्यही छ ।
 
पार्टीको महाधिवेशन हुन गइरहेको छ । महाधिवेशन सर्ने हल्ला पनि सुनिन थालेको छ । यसमा तपाईंहरूको धारण के छ ? 
 
पार्टीको महाधिवेशन सार्न हुँदैन भन्ने मान्यता राख्छु । पार्टीको विधानअनुसार जसरी पनि निर्धारित मितिमै गर्नुपर्छ । तर अहिले देशमा आएको संकटका कारणले केही साथीहरूले सार्ने पक्षमा आवाज पनि उठाउनुभएको छ र त्यसरी धारणा पनि राख्नुभएको छ । तर हामी जनसम्पर्क समितिको महाधिवेशनको लागि पूर्णतया तयार छौं ।  प्रतिनिधि तयारी अवस्थामा छन् । महाधिवेशनमा भूकम्प प्रभावित जिल्लाका प्रतिनिधिहरूलाई एक ठाउँमा राखेर त्यहाँको पुनर्निर्माणको लागि के गर्न सकिन्छ भनेर झन् नयाँ सोच तथा विचारको निर्माण गर्न सकिन्छ भन्ने लाग्छ । त्यस्तै प्रभावित ११ जिल्लाहरूमा जिल्ला अधिवेशन गर्दा पनि त्यहाँ भूकम्प तथा त्यसपछिको संकट र त्यसको समाधानलाई नै केन्द्रबिन्दु बनाएर गर्न सकिन्छ । यसबाटै पुनर्निर्माणमा नयाँ संगठित योजना आउन सक्छ । त्यसैले महाधिवेशन सार्नु हुँदैन भन्ने मेरो विचार हो ।
 
महाधिवेशनमा समितिको तर्फबाट तपाईंहरूले सातजना प्रतिनिधि पठाउने टुंगो लागेको हो ?
 
हामीले प्रतिनिधि संख्या बढाउने प्रयास गरेका थियौं । पार्टी महामन्त्रीलाई भेटेर नै  हामीलाई क्रियाशील सदस्यता भर्ने समय थप गरिदिन आग्रह गरेका थियौं । हामीले आठ सय क्रियाशील सदस्य भरिसकेका थियौं र एक महिनाको समयमात्र थपिदिएको भए हामी दुई हजार सदस्यता पुर्‍याउने थियौं । तर महाधिवेशन नसर्ने भएकोले त्यो सम्भव छैन भन्ने हामीले बुझेरै सातजना प्रतिनिधि पठाउने भनेका हौं ।
 
तेह्रौं महाधिवेशनबाट तपार्इंहरूले के अपेक्षा गर्नुभएको छ ?
 
नेपाली कांग्रेसको महाधिवेशनले नयाँ सोच, योजना ल्याउन सक्नुपर्छ ।  देश संकटमा रहेको अवस्थामा देशलाई नेतृत्व गर्नको लागि सशक्त विचारको आवश्यकता छ र त्यो सशक्त विचारको निर्माण कांग्रेसले गर्नुपर्छ । अहिले भूकम्पको कारण हाम्रो देशको अवस्था पछाडि धकेलिएको छ जसलाई जम्प गराउनुछ, पुनर्निर्माण, पुनस्र्थापनाका कुराहरू छन् । यस्तै, देशलाई अगाडि बढाउनको लागि नयाँ सोच तथा कुशल नेतृत्व चयन गर्नेछ भन्ने मैले विश्वास लिएको छु । यसको लागि जनसम्पर्क समितिले गर्नुपर्ने जति सबै सहयोग तथा भूमिका खेल्नको लागि सदैव तयार रहेको छ भन्ने कुरा यहाँ स्पष्ट पार्न चाहन्छु ।