मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ट्रम्पको कानुनी चुनौती पेन्सिल्भेनिया अदालतद्वारा खारेज

ट्रम्पको कानुनी चुनौती पेन्सिल्भेनिया अदालतद्वारा खारेज


वासिङ्टन । अमेरिकी राज्य पेन्सिल्भेनियाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट दायर निर्वाचनसँग सम्बन्धित निवेदन खारेज गरिदिएको छ । निर्वाचन नतिजा उल्ट्याउने मनसाय राख्दै दायर निवेदनमा पर्याप्त प्रमाण नपुगेको भन्दै अदालतले निवेदन खारेज गरेको हो ।

उक्त निवेदन खारेज भएसँगै राष्ट्रपति ट्रम्पको निर्वाचनमा धाँधली भयो भन्ने तर्कमा अर्को धक्का लागेको छ । रिपब्लीकन पार्टीका तर्फबाट दिइएको निवेदनमा हुलाकबाट गरिएको मतदानलाई खारेज गर्न माग गरिएको थियो ।  

पेन्सिल्भेनिया राज्यमा राष्ट्रपति–निर्वाचित जो बाइडेनले ८१ हजार मतको अग्रतासहित चुनाव जितेका थिए । तर, अदालतका न्यायाधीशहरुले सर्वसम्मतिले राष्ट्रपति ट्रम्प र रिपब्लीकन पार्टीले दिएका निवेदन खारेज गरेका थिए । पेन्सिल्भेनिया राज्यमा करिब ६९ लाख मतदाताले मतदान गरेका थिए । निवेदनमा पेन्सिल्भेनिया राज्यको सन् २०१९ को कानुनले हुलाकबाट भएको मतदानलाई गैरसंवैधानिक मानेको उल्लेख गरिएको छ । 

पेन्सिल्भेनिया राज्यले गत नोभेम्बर २४ मै औपचारिकरुपमा बाइडेन विजयी हुनु भएको जनाउँदै मतपरिणामलाई प्रमाणित गरिसकेको छ । 

राष्ट्रपति ट्रम्पले गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा व्यापक धाँधली भएको जनाउँदै चुनावी परिणामलाई स्वीकार्न मानिरहेका छैनन् । उनले चुनावमा धाँधली भएकै हो भन्दै दिनहुँ ट्वीट गर्नुका साथै पेन्सिल्भेनियामा बाइडेन विजयी भएको मान्न सकिने अवस्था नरहेको जनाउँदै अनौठा ट्वीट गर्दै आएका छन् ।  

तर, गत बिहीबार पहिलो पटक राष्ट्रपति ट्रम्पले आगामी डिसेम्बर १४ मा इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरुले बाइडेनलाई निर्वाचित गराए आफू ह्वाइट हाउस छाड्न तयार हुने बताएका छन् ।  

आगामी जनवरी २० मा राष्ट्रपतिको शपथ लिनु हुने बाइडेनले ३०६ र राष्ट्रपति ट्रम्पले २३२ इलेक्टोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक पर्दछ । एएफपी