मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा एकैदिन कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु

चितवनमा एकैदिन कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु


चितवन । जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा ८४ वर्षीया महिला र ७० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ । राप्ती नगरपालिका–५ निवासी ८४ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार बिहान ४ः१९ बजे मृत्यु भएको हो । कात्तिक ५ गते श्वासप्रश्वास र उच्च ज्वरोको समस्या भई अस्पताल भर्ना भएकी उनमा ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उच्च रक्तचाप, बाथ रोग र निमोनियाको समेत समस्या रहेकी उनलाई सघन उपचार कक्षमा उपचार गरिएको थियो ।

सोही कलेजमा उपचाररत ७० वर्षीय सङ्क्रमित पुरुषको शुक्रबार बिहान ८ः४४ बजे मृत्यु भएको छ । चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार भरतपुर महानगरपालिका–७ निवासी पुरुषको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । कात्तिक २ गते श्वासप्रश्वास र मिर्गौलाको समस्या भई अस्पतालमा भर्ना भएका उनको सोही दिन कोरोना पुष्टि भएको थियो । उनी मिर्गौला र उच्च रक्तचापको समेत बिरामी थिए ।

यस्तै भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको बिहीवार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । कात्तिक ६ गते सङ्क्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनमा असोज २६ गते कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा बसेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि उपचारका सबै उपाय गर्दागर्दै मृत्यु भएको पौडेलले जानकारी दिए ।

यसैबीच, चितवनमा शुक्रबार १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।