मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महामारीलाई पक्षविपक्षको दाउपेचका रुपमा प्रयोग नगरौँ : प्रधानमन्त्री

महामारीलाई पक्षविपक्षको दाउपेचका रुपमा प्रयोग नगरौँ : प्रधानमन्त्री


काठमाडौँ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्धको लडाइँ राजनीति वा अन्य स्वार्थको टकरावसँग सम्बन्धित नभएकाले यसलाई पक्षविपक्षको स्वार्थ, दाउपेच र अस्त्रको हिसाबले प्रयोग नगर्न आग्रह गरेका छन् । 

बडादशैँका अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोरोना भाइरसजस्तो अदृश्य साझा शत्रुसँगको लडाइँको यस कठिन घडीमा सरकार नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारका सन्दर्भमा आफ्ना कर्तव्यबाट विमुख हुन नसक्ने र नभएको बताए ।  

उनले जनताको स्वास्थ्य सुरक्षा एवं जीवन रक्षाका लागि सरकारले घोषणा गरेका नियमको कडाइका साथ पालना गर्न पनि सबैमा आग्रह गरे । 

प्रधानमन्त्री ओलीले बडादसैँका मुखमा महामारीको सङ्क्रमण अहिलेसम्मकै उच्च देखिएको र अहिले राजधानी काठमाडौंँ उपत्यका सङ्क्रमणको केन्द्रजस्तै बन्न पुगेको उल्लेख गर्दै सङ्क्रमणको वेग थामिन केही समय लाग्न सक्ने भएकाले यसलाई रोक्न, नियन्त्रण गर्न र सङ्क्रमितको उपचार गर्न सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको जानकारी दिए ।

दसैँमा फजुल खर्च र भीडभाड नगर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, “औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् ।” रासस