मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बलात्कारविरुद्ध कडा कानुन ल्याउन सरकार दृढ–संकल्पित : प्रधानमन्त्री

बलात्कारविरुद्ध कडा कानुन ल्याउन सरकार दृढ–संकल्पित : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–संकल्पित रहेको बताएका छन् । 

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित ६५औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता अवाञ्छित क्रियाकलापविरुद्ध सक्रियता र निर्भिकताका साथ खटिन सुरक्षाकर्मीलाई आग्रह गरे । उनले यस्ता गतिविधितर्फ नागरिक समाज सचेत  र सजक रहनु उत्तिकै जरुरी छ, भने । 

प्रधानमन्त्री ओलीले एसिड आक्रमणका विरुद्ध नयाँ कानुन ल्याएर कडा कदम चाल्ने सरकारले अठोट लिएको जानकारी गराउँदै बलात्कारविरुद्ध पनि त्यस्तै कडा कानुन ल्याइने बताए ।  

“बलात्कारका घटना निन्दनीय र मानवताविरोधी अपराध रहेकाले त्यस्ता गतिविधि नियन्त्रणमा सरकार अझ कडा कानुन ल्याउने तयारीमा छ”, प्रधानमन्त्री ओलीले भने, “बलात्कारजस्ता घटना मिलापत्रका नाममा छोपछाप गर्ने काम सह्य हुन सक्तैन ।”  

उनले यस्ता घटनामा भनसुन र सामाजिक दबाबबाट टाढा रहन नेपाल प्रहरीलाई निर्देश गरे । उनले कानुन कार्यान्वयन गर्दै अपराधविहीन समाज निर्माण गर्न र दिगो शान्तिमा योगदान पु¥याउनेतर्फ केन्द्रित हुन प्रहरीलाई आग्रह गरे ।  

प्रधानमन्त्री ओलीले विश्वसामु अदृश्य शत्रुको रुपमा देखा परेको कोभिड–१९ महामारीको चुनौती व्याप्त रहेको र नेपालमा गर्न खोज्दाखोज्दै पनि नियन्त्रणमा आउन नसकेको बताए । सङ्क्रमणको विषम अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाट प्रदर्शन भएको कर्तव्य परायणताको उनले खुलेर प्रशंसा गरे । यस्तो अवस्थामा आत्मानुशासन र संयमित रहनुपर्ने कर्तव्य नभुल्न आमसमुदायसँग उनले अनुरोध गरे ।  

प्रधानमन्त्री ओलीले भने, “सङ्क्रमणको महामारीबाट कोही पनि भयभीत हुने होइन, उच्च सतर्कता कायम राख्नुपर्छ, यस्ता घातक रोगले कुनै पनि बेला कसैलाई पनि आक्रमण र नोक्सान गर्नसक्छ भन्ने बारेमा सर्तक रहनुपर्छ ।”  

उनले महामारीको घडीमा सङ्क्रमण फैलिन निरोधात्मक उपाय अवलम्बन गर्नुको विकल्प नभएकोसमेत बताए । उनले जोखिममा रहेर कर्तव्यपालनामा खटिँदा सङ्क्रमित हुन पुगेका सबैको स्वास्थ्यलाभको कामना गरे ।  

प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता, सार्वभौमसत्ता राष्ट्रिय अखण्डताको जगेर्ना गर्दै राष्ट्रभाव अभिवृद्धि गर्ने मुलुकको नीतिविरुद्ध दिग्भ्रमित पार्ने कुचेष्टा भइरहेकोतर्फ सचेत हुन आम नागरिकलाई अनुरोध गरे ।  

उक्त समारोहमा गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ को महामारीका कारण नयाँ सुरक्षा चुनौती थपिएको विषम परिस्थितिमा निर्भिकताका साथ जिम्मेवारी निर्वाह गरेकोमा नेपाल प्रहरीको प्रशंसा गरे । गृहमन्त्री थापाले अपराधको प्रवृत्ति विष्लेषण गरेर रणनीतिक योजनाका साथ अघि बढ्न प्रहरीलाई निर्देशनसमेत दिए ।  

उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीले गरेका काम कारबाहीका बारेमा जानकारी गराउँदै एक वर्षमा ४० हजार मुद्दा अनुसन्धान गरेको जानकारी दिए । उनले पद्धतिको विकास गर्ने चरणमा प्रहरी सङ्गठन रहेकोसमेत बताए । 

प्रहरी महानिरीक्षक थापाले पछिल्लो समयमा गरिएको एक अनुसन्धानले सरुवा, बढुवा र मिसनमा खटिने प्रहरी चयनको मापदण्ड पारदर्शी गर्नुपर्ने आवश्यकता औँल्याएको बताए । उनले प्रहरीले जागिर छाड्नुपर्ने कारणको बारेमा उक्त अनुसन्धानले केही तथ्यहरु औँल्याएको बताए । रासस