विचार / ब्लग

कम्प्युटर इन्जिनियरको नजरमा राष्ट्रपतिको निर्वाचन

प्रकाशित |

केही वर्षयता मेरा केही चिनजानका, नाताकुटुम्ब, विद्यार्थीले जमघटमा राख्ने एउटा साझा जिज्ञासा छ । उहाँहरू सोध्नुहुन्छ–‘हायर अमेरिकी‘ प्राथमिकतामा परेपछि सूचना प्रविधिको काम त हामी जस्ता ग्रीनकार्ड, सिटिजन भैसकेकाहरूलाइ फालाफाल मिल्छ होला है ?‘

चारवर्षदेखि निरन्तर जारी यो प्रश्न सन्निकट अमेरिकी राष्ट्रपति चुनावको मुखमा अझै चर्को उठेको छ । साँच्चै अमेरिकीहरूलाइ सूचना प्रविधिको रोजगारीमा प्राथमिकता विगतमा नदिएको थियो या चुनावी सेन्टिमेन्ट लिनका लागि यो इस्यु फेरि बल्झाइएको हो यो लेखमा त्यसलाइ स्पष्ट पार्ने प्रयास गरेको छु ।

हालै अर्थात गत जुनको सुरूमै अमेरिकी सरकारले यस बर्षको अन्तिम सम्मका निमित्त भनेर एच वान बी भिसा स्थगित गर्यो। त्यसैगरी जुलाईमा फल सेसन (अक्टोबर २०२० - डिसेम्बर २०२०)  का निमित्त अमेरिका अध्ययनमा आउन लागेका बिदेशी बिध्यार्थीहरुको निमित्त कोरोना कहरको माझ कम्तिमा एउटा कोर्स इन क्याम्पस लिने पर्ने बाध्यकारी नियम पास गर्यो। अमेरिकी ठूला विश्वविद्यालय, ठूला कम्पनीहरु सबैले सरकारको यो आप्रवासी प्रतिकुल नीतिको विरोध गर्दै शैक्षिक, प्राज्ञिक तथा प्रोफेसनल म्यानपावर जस्ता सम्बेनाशील क्षेत्रमा राजनीति नगर्न आह्वान गरे। यिनै कुराहरू बुझ्नु र त्यसपछिमात्र आगामी निर्वाचनमा हामी नेपालीहरु ट्रम्प र बाईडेनमा बाडिनु उपयुक्त हुनेछ ।

यतिखेर अमेरिकामा जुन ढंगले आप्रवासी बिरोधी गतिविधिहरु बढिरहेको छ त्यसले संसारका उत्कृष्ट बिदेशी विद्यार्थीहरुको अमेरिकी बिश्वबिद्यालय प्रतिको आकर्षण घटेको छ । झट्ट हेर्दा वा सतही मूल्यांकन गर्दा यसले अमेरिकीहरूलाइ फाइदा त गर्छ नि भनेजस्तो लाग्छ । तर यसले अमेरिकी वैभव, यो देशले धेरै शताव्दी पुरा गरेर कमाएको ख्याती छियाछियामात्र बनाउँदैन यसलाइ विश्वका अरू देशले अवसरका रूपमा लिएर अमेरिकालाइ उछिन्ने डर पैदा भएको छ ।

हामी नेपालीहरू अमेरिकामा बसेका हिसाबले यो मुलुकको संविधान, कानुनलाइ विना कुनै संकोच मनैदेखि स्विकार गर्छै । कानुनलाइ सम्मान गरिरहेका छै । यो देशको सदा भलो, उन्नती, प्रगतीमा हिस्सेदार हुन चाहन्छा । यसका लागि हाम्रा कुनै शर्त, र, वा, तर जस्ता कुनै शव्द बीचमा छैनन् ।

म सूचना प्रविधिको क्षेत्रमा कार्यरत भएका हिसाबले यो क्षेत्रको विश्लेषण गर्नुपर्दा विगत चार वर्षमा देखिएका अस्थिर अवस्था रहिरहने हो भने हाम्रा छोराछोरीका भविष्यलाइ बिर्सिउँ, हाम्रै भविष्य समेत अनिश्चित हुने डर पैदा भएको छ ।

अमेरिकी विश्वविद्यालयप्रति संसारका उत्कृष्ठ विद्यार्थीको आकर्षण घट्नु भनेको यहाँका ठूल्ठूला रिसर्चहरु प्रभावित हुनेछन। त्यसैगरी एचवानबी भिसा मार्फत विश्वका बुद्धिजीवीहरुको अमेरिका आउने क्रम ठप्प हुनेछन् । ठूल्ठूला सफ्टवयर डेभलपमेन्ट गर्ने कम्पनीहरुले चाहे अनुसारका प्रोफेसनलहरु पाइने छैन । ती कम्पनीहरु क्रमशः धारासायी हुँदै जानेछन।  

सन २००८ को अमेरिकी राष्ट्रपतिको निर्वाचनमा म मतदाता थिइन । तरपनि नेपालमा हुँदा राजनीतिलाई निकै नजिकबाट आत्मसात गरेकाले मैले अमेरिकी निर्वाचनलाई निकै नजिकबाट चासो पूर्वक हेरे। 

अमेरिका पढ्न आएका एक आप्रवासीका छोरा (बाराक ओबामा) राष्ट्रपतिको उमेदवार हुँदै गर्दा डेमोक्रेटिक पार्टीको प्राइमरीको पहिलो ८ प्रतिस्पर्धीको डिबेटदेखि फाइनल सम्मलाई निकै गम्भीर रूपमा अध्ययन गरे। ओबामाले जोन मकेन (२००८ निर्वाचनका रिपब्लीकन तर्फका प्रतिस्पर्धी) लाई इमेल ह्यण्डलिङ्ग को बिषयमा गरेको व्यंगले पनि यस देशमा सूचना प्राबिधिको राजनीतिज्ञमा हुनुपर्ने ज्ञानको बारेमा म अझ प्रष्ट भए। 

सन २०१६ कि राष्ट्रपति पदकी उमेदवार हिलरी क्लिन्टन र अहिले (२०२०) का राष्ट्रपति उमेदवार जो बाइडेन उनका उसै समय (२००८) का प्रतिस्पर्धी हुन् जसलाई उनले आफू निर्वाचित भएपछि आफ्नो टिममा निकै महत्त्वपूर्ण जिम्मेवारीमा समेटे। 

यी सम्पूर्ण घट्नाले अमेरिकाले त्यसै यो सन्सारको सर्वशक्तिमान भएको होइन रहेछ भन्ने लाग्दै गयो। यहाँको स्थापित राजनीति र आप्रवासी प्रतिको स्पष्ट नीतिले नै संसारका निमित्त अमेरिका सपनाको मुलुक बनेको बुझ्न समय लागेन। क्रमशः अमेरिका प्रति माया मात्र पलाएन तत्काललाई यतै बस्ने निर्णय सम्म गरि सन २०१२ मै भोटर्स सम्म बनेर निर्वाचनमा सहभागी भए।

नेपालको तराईको एउटा गाउँमा हुर्के पढेर काठमाडौमा इन्जिनियरिङ्ग पढ्न काठमाडौ पुग्दा मलाई काठमाडौ जति अपरिचित लागेको थियो र त्यहाँ स्थापित हुन मैले जुन संघर्ष गरे, पहिलो पटक अमेरिका आउदा यहाँ पनि त्यही प्रकृतिको र लगभग त्यस्तै नै संघर्ष भयो। 

अमेरिका आउनु अघि जसरी सिङ्गो काठमाडौ मेरो दौँतरी बन्यो, आज त्यसरी नै अमेरिका मेरो दौँतरी बनेको छ। हिजोको बानेश्वरले मलाई जति चिन्थ्यो, बुझ्थ्यो र माया गर्थ्यो, आज डाल्लासले त्यति नै माया दिएको छ। 

जसरी म काठमाडौ बसेर मेरो गाउलाई माया गर्थे, सहयोग गर्थे र बिदा मिल्नासाथ गाउँ पुग्थे र रमाउथे, आज पनि त्यसरी नै बिदा मिल्नासाथ म नेपाल पुग्छु, गाउँघर डुल्छु अनि अतित स्मरण गर्छु र रमाउछु। मात्र फरक यति छ हिजो काठमाडौ बसेर म मेरो गाउँलाई माया गर्थे, मेरो क्षेत्रलाई माया गर्थे, जातलाई माया गर्थे, पेशा, ब्याबशायलाई माया गर्थे। समग्रमा देश भन्दा मेरोको माया धेरै थियो मलाई। अहिले अमेरिका रहेर सिङ्गो देशलाई माया गर्छु। हरेक दु:ख-सुखमा सहभागी हुन्छु र सहयोगी बन्छु। 

फरक मात्र भावनाको छ- हिजो म सङ्ग मेरो देश, भाषा, संस्कृति सङ्गै थियो। मैले तिनको महत्त्वलाई आफ्नो स्वार्थ अनुसार ब्याख्या गरे। आज ती नभएका कुराहरुको महत्व बुझे र निस्वार्थ देश, भाषा, संस्कृतिको रक्षा गर्दै आफ्नो पहिचानको निमित्त लागिपरेको छु। 

स्वाभिमान नै नेपालीको पहिचान हो। नगरिकताले रगत फेरिदैन, भाषा फेरिदैन, संस्कृति बदलिदैन। त्यसैले त म जस्ता धेरैको धारणा यस्तै पाउछु र त अमेरिका बसे पनि हजारौं संस्थाहरु मार्फत जेजस्तो भएपनी हरेक नेपाली नेपालमा सहयोग गर्न सदा तत्पर रहन्छ।

पुनः चुनाव तर्फ नै फर्कौ। सन् २०१६ को अमेरिकी निर्वाचनमा म्याक्सिको बोर्डरमा पर्खाल लगाउने कुराले प्रमुखता पायो। यो प्रमुखतामा पर्खाल चुनावी एजेण्डाको माध्यम मात्र थियो, उद्देश्य त बिदेशीलाई रोक्नु भन्ने नै थियो। चुनावी प्रचारमा गैरकानुनी इन्ट्री रोक्ने भनिएपनि ब्यबहारमा त्यसपछि भएका आप्रवासी सम्बन्धि कानूनमा भएका परिवर्तन र परिवर्तन गर्न खोजेर खारेज भएका केही कानूनहरुको फेहरिस्तले सन् २०१६ पछि सरकार आप्रवासी प्रति अनुदार रहेको तथ्यहरू निकै लामा छन् ।

लेखे यो भन्दा लामो हुन्छ। 

अब फर्कौ मूल बिषय तर्फ -

सवैलाई अमेरिका किन बसौं बसौं लाग्छ? भन्ने प्रश्नको फ्याट्ट भन्ने उत्तर पनि सजिलो छ नियम कानूनमा चलेको देश। 

नियम कानून कसले बनाउछ? भन्ने प्रश्नको फ्याट्ट भन्ने उत्तर - संसदले।

नियम कानूनको पालनाको आधार के हो? भन्ने प्रश्नको फ्याट्ट भन्ने उत्तर - पुलिस, प्रशासन र अदालत।

यहाँ सम्म ठीकै छ। अब, प्रश्न थपिन्छ यी सवै नियम, कानून, पुलिस, प्रशासन, अदालत मात्र हैन सिङ्गो अमेरिकाको सिष्टम कसरी सन्चालन भइरहेको छ - सही जवाफ हो आइ टी (अर्थात कम्प्युटर सफ्ट्वेयर) द्वारा ब्यबस्थित सिस्टम।

यहाँ मैले उठान गर्न खोजेको मुल कुराको आधार के हो भने - जो सुकै पनि अमेरिका रमाउने कुराको आधार नै कम्प्युटर टेक्नोलोजीमा भएको बिकासले यसले हरेको ब्यक्तिको जीवनमा प्रदान गरेको सहजता मात्र नभएर सिङ्गो अमेरिकि सिस्टमलाई गाइड गरेको सहजता।

यहाँको कम्प्युटर सफ्टवेयर तथा आइ. टी. नेटवर्किङ सिस्टमको बिकाश यसरी भएको छ जसलाई भेट्न अरु बिकशित देशहरुले पनि दशकौ कुर्नुपर्छ। 

कम्प्युटर टेक्नोलोजी तथा सप्टवेयर डेभलपमेन्टको मूल बिषयहरु भनेको नै कम्प्युटर साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ्ग र म्याथ हो । यतिखेर बुझ्नुपर्ने कुरा के हो भने आज अमेरिकामा सबैभन्दा कम स्थानीय बिद्यार्थीहरुले रुचीको बिषयहरु पनि यिनै हुन। 

जब सफ्टवेयर डेभलपमेन्ट प्रक्रिया धारासायी हुन्छ तब सिङ्गो अमेरिकी अर्थतन्त्र धारासायी हुन्छ भन्ने बुझेर नै सन २००८ देखि साइन्स, टेक्नोलोजी इन्जिनियरिङ र म्याथम्याटिक्स बिषयहरुमा STEM प्रोग्राम मार्फत बिदेशी विद्यार्थीहरुलाई आकर्षण गर्ने उद्देश्यले विशेष कार्यक्रमहरुको ब्यबस्था गरिएको हो ।

अमेरिकी लेबर फोर्सको तथ्यांक अनुसार सन् १९७० को दशकमा आइटीमा काम गर्नेहरुको संख्या चारलाखको हाराहारीमा थियो । यो संख्या सन् २०१६ मा पुग्दा ४६ लाख पुगेको थियो। गत बर्ष २०१९ को तथ्यांक अनुसार अहिले अमेरिकामा १ करोड २१ लाख ब्यक्क्तिहरु कम्प्यूटर तथा सफ्टवेयर डेभलपमेन्टमा काम गर्छन। यो तथ्याङ्कले अमेरिकी आइटी इण्डस्ट्रि एक्स्पोनेन्सियल गतिमा बढिरहेको देखाउँछ।   

अर्को तथ्यांक अनुसार अमेरिकाका अन्य ब्याबसायहरु जहाँ कम्प्युटर टेक्नोलोजीको आवश्यकता नभए जस्तो देखिन्छ ती व्यवसायहरू पनि औसत ३५ देखि ४० प्रतिशातसम्म कम्प्युटर टेक्नोलोजी मै निर्भर हुने रहेछन। जस्तै: ग्यास स्टेसन, रेस्टुरेण्ट, होटेल, मोटेल, डे केयर, घास काट्ने, सलुन, वेडीङ्ग कन्सल्टिङ्ग, रियल स्टेट, कार वाश, मेनुफ्याक्चरिङ्ग इण्डस्ट्रि, शपिङ्ग स्टोर, इण्टर्टेन्मेण्ट बिजनेस, भ्याकेसन प्लान एण्ड मेनेजमेन्ट, मुभिङ्ग, क्लिनिङ्ग, ह्याण्डिम्यान सर्भिस सूचना प्रविधिकै निर्भर छन् ।

हरेक बर्ष अमेरिकाले ८५ हजार एच वान बी भिसा इस्यु गर्छ। एच वान बी भिसा अमेरिकाले कुनै पनि बिषयमा प्रोफेसनलहरुलाई अमेरिकाको आवश्यकता अनुसार अमेरिकामा काम गर्न दिने अस्थायी अनुमति भिसा हो। 

गत वर्षको यु एस डिपार्टमेण्ट अफ लेबरको डाटा अनुसार यो भिसा ८५ हजार मध्ये ७९,६२० कम्प्युटर टेक्नोलोजी प्रोफेसनलहरुलाई मात्र प्रदान गरिएको छ। अमेरिकामा सरकारी तथ्यांक अनुसार गत सेप्टेम्बर सम्मको रेकर्ड अनुसार जम्मा ५ लाख ४३ हजार ४२० रहेकाछन। यो संख्याको लगभग हरेक बर्ष १ लाखको संख्यामा ग्रीन कार्डमा परिवर्तन हुन्छ जुन अमेरिकाको निमित्त ठूलो बौद्धिक जनशक्ति हो। 

यो तथ्यांकले पनि अमेरिकामा आप्रवासीहरुको आवश्यकताको प्रमाण दिन्छ। हाई लेभल प्रोफेसनलहरुलाई सम्मानको साटो अमेरिकीहरुको जागिर खोसेको भन्ने राजनैतिक ब्याख्या गरि केवल चुनावी मसला मात्र बनाइदैछ। तसर्थ, अहिलेको समयमा आप्रवासी प्रतिकुल नेताको चयन भयो भने त्यसको प्रत्यक्ष असर सम्पूर्ण आप्रवासीहरुमा पर्नेछ भलै तपाइसँग अमेरिकाकै नागरिकता किन नहोस ? छोराछोरी यतै जन्मेकै किन नहुन् । तपाइको नागरिकता परिवर्तन भएपनि तपाईको एक्सेण्ट, छाला, आँखा र कपालको रङ्ग परिवर्तन हुनेछैन। तपाइले अनुहारको छाला तपाइलाइ विभेद निम्त्याउने कारक बन्छ । चाहे रिपब्लिकन हुँ भनेर सगर्व घोषणै किन नगर्नुस् कपालको रङ्ग देखेरै तपाइमाथि जागिर, सरकारी व्यबहारमा अन्तर पर्नेछ ।

जब ठूला कम्पनीहरुले राम्रा सफ्टवेयर डेभलपमेन्टका प्रोफेसनल पाउन छाड्नेछन अनि उनीहरूले मध्यम बर्गीय कम्पनीका प्रोफेसनलहरु महङ्गो स्यालरीमा हायर गर्न थाल्नेछन । यो  क्रमले लामो समय धान्न सक्नेछैन। क्रमशः ठूला कम्पनीहरुले आफ्ना नया टेक्नोलोजिकल उत्पादनहरु बजारमा ल्याउन सक्नेछैनन र संसारका अन्य मुलुकहरुले अमेरिकालाई प्रविधिमा पछि पार्नेछ। 

अन्ततः यसको असर साना ब्याबसायमा, साना जागीरहरुमा पर्नेछ। यो असरको पहिलो चोट नै विशेष गरेर आप्रवासीहरुले गर्ने साना ब्यबसायहरु ग्याँस स्टेसन, रेष्टुरेन्ट जस्ता साना र खुद्रा ब्यापारमा पर्नेछ।  रोजगारीका अवसर क्रमशः घट्दै जानेछ अनि फेरि राष्ट्रियताको नाममा सामान्य वेयरहाउस, विमानस्थलका काममा समेत गहुँगोरो छाला भएका र कालो कपाल र आँखा हुनेहरु तारो बन्नेछन। 

अनि बजार घुम्न जादा होस वा भ्याकेशन मनाउन, जागीर अप्लाई गर्दा होस वा सामान्य ब्यापार चलउँदा आप्रवासीहरुले स्वतन्त्रता हरण भएको महसुस गर्नेछन् । अमेरिका आप्रवासीको निमित्त कठोर र निर्मम बन्नेछ। यो क्रम बढेर हाम्रो छोराछोरी पुस्तासम्म पुग्न सक्नेछ र अमेरिका बस्दा प्राप्त भैरहेको स्वतन्त्रता, सम्मान, सहअस्तित्व एकै पटक पीडामा परिणत हुनेछ ।

त्यतिखेर अमेरिकी नागरिकता, ग्रीनकार्ड हुनेले सूचना प्रविधिमा प्राथमिकता होइन जागिरबाट हात धुनुपर्ने अवस्था हुनसक्छ । किनकी अस्थिर व्यबहार, नीतिबीच सूचना प्रविधिको रिसर्च, इन्नोभेसन सबै काममात्र नभएर दक्ष प्राविधिक अरू मुलुकले तान्नेछन् ।

(लेखक अमेरिकाको कम्प्युटर टेक्नोलोजी क्षेत्रमा लामो समय देखि सिनियर कम्प्युटर इन्जिनियरका रुपमा कार्यरत र कम्प्युटर टेक्नोलोजीक ब्यवसायी बिज्ञ हुन्)

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया