मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

नेपालसहित विश्वभर ७४२ नेपालीको कोरोना संक्रमणबाट मृत्यु

नेपालसहित विश्वभर ७४२ नेपालीको कोरोना संक्रमणबाट मृत्यु


काठमाडौँ । विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विदेशमा थप २१ नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४, युएईमा एक, युगान्डामा एक गरी थप २१ जनाको ज्यान गएको हो ।   

कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले दिएको जानकारीअनुसार शनिबार साँझसम्म १७ देशमा रहेका २६५ नेपालीको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको हो ।   

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८४८ नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।  जसमध्ये ३५ हजार ७८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो कुल सङ्क्रमितमध्ये ९२ प्रतिशत हो ।     

समितिका संयोजक डा सञ्जीव सापकोटाका यो साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, युएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।    

यस्तै, नेपालमा मात्र ७३ हजार ३९४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने आइतबार थप ८८५ सहित ५३ हजार ८९८ कोरोनामुक्त भएका छन् । यो कुल सङ्क्रमितको ७३.४४ प्रतिशत हो । हालसम्म नेपालमा ४७७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।     

कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये ७४२ को निधन भएको छ ।   

७८ हजार बढी नागरिकको उद्धार  

कोरोना भाइरसको सङ्क्रमणपश्चात् विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकामा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ ।   

हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३२ देशमा अलपत्र परेका ७८ हजार ३४३ नेपालीको उद्धार गरिएको छ ।  

चीनबाट कोरोना भाइरसको सङ्क्रमण भए लगत्तै गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड–१९ उच्चस्तरीय समिति विदेशमा अलपत्रमा परेका नेपालीको उद्धार र राहत वितरणमा सक्रिय रहेको संघले जनाएको छ ।    

संघअन्तर्गतको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघका राष्ट्रिय शाखा, विदेशका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक संघसंस्था लगायतबाट प्राप्त सूचनाको आधारमा २४ सातादेखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीको तथ्यांंक संकलन गर्दै आएको छ ।