विचार / ब्लग

बिपी कोईराला र अहिलेको जनसम्पर्क समिति

प्रकाशित |

ठुलाघरका अट्टालीमा बस्ने र मिठो खानेहरु नेपाली जनता हुन सक्दैनन । नेपाली जनता त गाउँमा बस्छन र रुखो, सुक्खा खान्छन । हामीले उनीहरुलाई लक्षित योजनाको केन्द्रमा राखेर योजना बनाउनुपर्छ । हामीले गर्ने राजनीतिले उनीहरुको जीवनमा परिवर्तन ल्याउन सक्नुपर्छ ।

माथिका हरफहरु महामावन बिपी कोइरालाका बिचारहरु हुन । तर बिपीको नीतिको प्रमुख अनुवाई गर्ने पार्टी नेपाली कांग्रेसले गाउँका गरीब र सुखा रुक्खा खाने गरीब बर्गको जीवनस्तर उकास्न के गर्यो ? यसको जवाफ नेपाली कांग्रेसको नाममा पटकपटक सत्तामा जाने र नीति बनाउने नेतागणले दिनुपर्छ ।

यथार्थमा भन्नुपर्दा पार्टी, सरकार, अर्थतन्त्र र राष्ट्रीय राजनीति देशका गरिव गाउँले जनताको हैन अट्टालीमा बस्ने एक प्रतिशत मिठो खानेहरुकै पहुँचमा छ ।

राजालाई घर फर्काउने र पुनः सत्तासिन गराउने होस वा मिल्न परे देशी शक्तिसंग मात्रै मिल्छु भनेर मेलमिलापको नीति लिने बिपी, नेपाली राजनीतिको टाकुरोमा छन् र रहिरहनेछन। उहाँ सशरिर अहिले नभएपनि नेपाली भूगोल र परिवेश अनुकुलको प्रजातान्त्रिक समाजवादको जुन खालको परिभाषा र नीति उहाँले ल्याउनुभयो, त्यसमा नेपाल हिँड्न सकेको भए र कांग्रेसकै नेता र कार्यकर्ताहरुले त्यो बाटो अबलम्बन गर्न सकेको भए आज नेपाल साँच्चै नमूना देशका रूपमा संसारमा चिनिएको हुन्थ्यो होला ।

अहिलेका पक्ष र  बिपक्षहरुका सुकिला , प्रचारमुखी अनि नक्कली दर्शनले बिपीलाई कहाँ भेट्न सक्नु ? बर्तमानमा बिपीका बिचारहरु झन सान्दर्भिक र जीवनोपयोगी छन । बिपी एक ब्यक्ती नभै बिचार बनेका छन । ‘प्रजातन्त्र आएपछि चिल्ला सुकिला लगाउनेहरु हावी हुनेछन र बास्तबिक प्रजातन्त्रबादीहरुने फेरि संघर्ष गर्नु पर्नेछ‘ भनेर विपीले पहिलेनै भविष्यवाणी गर्नुभएको थियो । जुन तथ्यलाइ सबैले देखेकै र भोगिरहेको विषय हो ।

राजनितिमा  ब्यापार हावी हुने र पार्टी र सरकार गरीबहरुको पहुँच भन्दा बाहिर पुग्ने पुर्वानुमान उहिबेला नै उहाँले गर्नु भएको थियो ।

जनसम्पर्क र बिपीः

बिपी कोईराला जनसम्पर्क समितिको कल्पनाकार हुनुहुन्थ्यो । प्रबासमा रहेका सबै नेपालीहरु अटाउनेगरि देश सँगको सम्बन्ध स्थापित गर्न यो संस्थाको परिकल्पना र गठन गर्नुभएको हो ।

अहिले जनसम्पर्क समितिमा नेपाली कांग्रेसको मात्रै स्वामित्व र दावी स्थापित गरिएको छ । तर यसलाई बिपीको सोचअनुरुप ‘देश बाहिर बसेका सबै नेपालीहरुको देश जोड्ने सेतु‘ बनाईनु उपयुक्त हुनेथियो । नेपाली कांगेसको महाधिवेशनमा भोटको निम्ति मात्रै यसलाई प्रयोगमा ल्याइएको छ । यसले गर्दा संस्थाको गरिमा त धुमिल हुँदै गएको छ नै थपमा आजको अबस्थामा शरिर भएपनि श्वास नभएको, संस्था भएपनि विधि विधान नटेर्ने अनि केहि निश्चित मानिसहरुको लागि कमाई खाने भाँडोका रूपमा चिनिन पुगेको छ । विपी रहिरहनुभएको भए शायद यो संस्था यो रूपमा पक्कै चल्न पाउने थिएन । अहिले नेता भनिएका धेरैजना कारवाही भोग्नेमा परेका हुन्थे । राणाकालमा विर्तावालहरुलाई छुट्याईको बिर्ता जस्तो हुन पुगेको छ जनसम्पर्क समिति । ‘तिमि गरि खाउ, हामीलाई पनि केहि पठाईदेउ‘ भनेर जसरी राणाहरूले विर्तावाल, जिम्मावालहरुलाई सुम्पिन्थे, अवस्था त्यही र त्यस्तै प्रकृतिको छ । 

प्रजातन्त्र आएपछि जनताका छोराछोरीलाई सहज रुपमा राहदानी उपलब्ध गराउने र देशका क्षमतावान युवा युवतीलाई बिश्बजारको ढोका खोल्ने नीति आयो । फलस्वरुप हजारौ क्षमतावान युवा युवतीहरु उच्चशिक्षा र अार्थिक समुन्नतिका लागि बिदेश जान सहज भयो । त्यसपछि त देशका युवाहरुको लर्को लाग्यो बिदेश तिर । कोहि बाध्यताले त कोहि अबसरको खोजीमा । नेपाली कांग्रेस पटकौ पटक सरकारमा गयो , कहिले एकल त कहिले मिलिजुली । बिदेशमा बाणिज्य र पर्यटन प्रबर्दन गर्न अबैतानिक दूतहरु तोक्न सम्मपनि कन्जुस्याई गर्यो , जब बामपन्थीहरु सरकारमा गए, बिदेशका ठुला र ब्यापारिक शहरहरुमा भटाभट दूतहरु नियुक्त गरे फलत बिदेशमा समेत उनीहरुको बलियो उपस्थिति स्थापित भयो, कांग्रेस सत्तामा पुनर्स्थापित भएपछि लेनदेनमा उनीहरुकै म्याद थप गरे ।

कुरा अमेरिकी जनसम्पर्क समितिकोः

गतहप्ता देश–बिदेश सबैतिर बिपीमय भयो । अमेरिकाको जनसम्पर्क समिति त यस्तो भाग्यमानी संस्था सावित भयो कि बिगत सात बर्षदेखि लगातार बिपी जयन्ती मनाउँदै आएको छ । यहाँ बिभिन्न समिति र समुहगत गुटमा बिपी जयन्ती मनाईयो ।

लगातार सात बर्षसम्म एउटै नेतृत्वले बिपीको शंख बजाएकै छ यहाँ । हरेक संस्थाको एउटा नियम, बिधान र समय सीमा हुन्छ । यो संस्था अब लगातार ७ औ बर्षमा सफलताका साथ प्रबेश गर्दैछ । अझै अर्को वर्षको बिपी जयन्ती मनाउने अबसर जुटाउने प्रपंचमा छ । विपीका नाममा भाषणदेखि लिएर अाशनग्रहण समेत एउटै व्यक्ति, समूहले गरेको गर्यै छ ।

भनिन्छ, अमेरिकामा बस्ने नेपालीहरु मध्ये धेरैजसो प्रजातन्त्रबादीहरु छन । अझै भन्नु पर्दा पूर्ब कांग्रेसीहरु धेरै छन । त्यसैले त होला धेरै समुह, गुट र शहरै पिच्छेका समितिहरु छन । अचम्म त के छ भने यहाँ राष्ट्रिय मात्रै हैन अन्तराष्ट्रिय जनसम्पर्क समिति पनि छ । टोलै पिच्छेका नेता, नेताका गुट उपगुटका नाउँमा समतितिहरु छन ।

अरु काम नगरेपनि चन्दा उठाउने काम चाहि भव्यताका साथ भएकै छ । भुईचालो र कोरोना काण्डको चन्दा संकलन त बक्स अफिसमा सुपर हिटनै भयो । बिपीको नाउँमा डालो थाप्ने दुईचार जना मुखियाहरु मिलेर ढुकुटी खेल्नेदेखि लिएर देश बिदेश यात्रा सम्म पुगेकै छ । विपीका सिध्दान्तलाइ पनि अनुशरण गर्नुपर्यो ? विपीका विचारलाइ किन मान्नुपर्यो र उताबाट सद्भाव र अशिर्वाद मिलेपछि यता जे जसो गर्रे पनि भयो। बाढीपहिरो , भुकम्प जस्तै प्राकृतिक प्रकोपको नाउमा उठाएको पैसा खाता संचालकहरुको मिलेमतोमा खुसुक्क निकालेर २२ महिनासम्म निजी प्रयोग गर्ने, ढिकुटीमा लगानी गर्ने पदाधिकारीहरु आजसम्म पनि संस्थामा निर्लज्ज बसिरहेका छन त्यो पनि अमेरिकामा र भन्छन हामी बिपीका अनुयायी हौँ भनेर ।

अन्तमा,

बिपीको नाममा खोलिएको जनसम्पर्क समिति जस्तो पबित्र संस्थालाई पार्टीको बर्कोले छोपेर टोकरी थाप्ने नबनाऔ । यसलाई सुभेच्छुक संस्थाको रुपमा बिकास गरौँ । केहि नेताको चुनाव जित्ने र जिताउने गोटीका रूपमा प्रयोग हुनु हुन्न। यसलाई मातृभूमिका निम्ति बिदेश बस्नेहरुको क्षमता र प्रबिधी हस्तान्तरण गर्ने शुद्ध संस्थाको रुपमा बिकास गर्नु पर्दछ । जुन मुलुकमा दर्ता भएको संस्था हो त्यही मुलुकको नियम अनुसार चल्न पाउने ब्यबस्था गर्नु पर्दछ ।यसलाई आस्थाको संस्था बनाऔ नकि सानेपाको चिठ्ठीले गठन र अर्को चिठ्ठीले बिघटन हुने ।

(लेखकः जनसम्पर्क समिति अमेरिकाको संस्थापक नेता हुन् ।)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया