मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रिय आकांक्षा पूरा गर्न संविधान मार्गदर्शक : प्रधानमन्त्री ओली

राष्ट्रिय आकांक्षा पूरा गर्न संविधान मार्गदर्शक : प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जारी भएपछि निर्वाचित सरकार सञ्चालनको पहिलो वर्ष जनआकाङ्क्षा पूरा गर्दै त्यसलाई अघि बढाउन आधार तयार गरिएको बताएका छन् ।  

गत वर्षदेखि यस दिनलाई राष्ट्रिय दिवसका रुपमा घरघरमा चर्चा हुने गरी मनाउन थालिएको प्रधानमन्त्री ओलीले स्मरण गरे । यस वर्ष भने सामाजिक जीवनलाई नै अस्तव्यस्त पार्ने तथा अर्थतन्त्र र विकासको अभियानलाई गम्भीर धक्का दिने कोभिड–१९ महामारी फैलिएकाले त्यसलाई ख्याल गरेर दिवस मनाइएको उनले बताए । 

ओलीले कोभिड–१९ कारण मुलुकले सोचेअनुसारको लक्ष्य हासिल गर्ने सन्दर्भमा केही व्यवधान खडा भए पनि जोखिम कम हुनासाथ अर्थतन्त्र पुरानै लयमा फर्कने विश्वास व्यक्त गरेका छन् ।  

अर्थतन्त्रका अन्य सूचक, दुरुस्त रहेको अवस्थामा पर्यटनलगायत सेवा क्षेत्र सञ्चालन हुनासाथ आर्थिक वृद्धिले अपेक्षा गरेकै दरमा प्रगति हासिल हुने प्रधानमन्त्री ओलीको भनाइ छ । “महामारी अस्थायी परिघटना हो, यसको अन्त्यसँगै मुलुक ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अघि बढ्ने छ”, प्रधानमन्त्री ओलीले भने, “यसका लागि संविधान मार्गदर्शक रहेको छ ।”

प्रधानमन्त्री ओलीले सङ्क्रमण नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दीपछि जनजीवन सामान्य हुन नसकेको दुःखद स्थितिबारे बताउँदै मुलुकमा अहिलेसम्म ६० हजारभन्दा बढी सङ्क्रमित भएकामा ४३ हजारको निको भइसकेको जानकारी दिए ।  

उनले भने, ‘‘महामारीमा देशभित्र झण्डै चार सय र बाहिर पनि सयौँ नेपालीको ज्यान गएको छ । महामारीका अतिरिक्त अतिवृष्टिका कारण भएको प्राकृतिक विपत्तिमा परी धेरैले ज्यान गुमाउनुपरेको तथा कतिले सिङ्गो परिवार नै गुमाउनुपरेको छ । केही बस्ती नै सखाप भएको छ ।’’  

महामारीबाट ज्यान गुमाउने जत्तिकै सङ्ख्यामा विपद्का कारण ज्यान गुमाउन पुगेकाको विषम अवस्थामा प्रधानमन्त्री ओलीले सबै घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारमा गहिरो समवेदना र सङ्क्रमित तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे । 

उनले भने, ‘‘गत चैत ११ मा बन्दाबन्दी जारी गर्दा नेपालमा दुई जनामात्रै सङ्क्रमित रहेको, चीनमा नियन्त्रणमा आइसकेको र भारतीमा तीन अङ्कमा सीमित सङ्क्रमितको अवस्था थियो । त्यस समयमा मास्कलगायत अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव रहेको थियो ।’’  

प्रधानमन्त्री ओलीले पछिल्लो समयमा जनताको सुझबुझपूर्ण सहयोगले कोरोनालाई तह लगाउन सकिने अवस्था सिर्जना भएको बताए । उनले सबैसँग सल्लाह गरेर ‘जनताको जीवन रक्षा पहिला’ भन्ने नीति अवलम्बन गरिएको उल्लेख गरे । हरसम्भवको प्रयासले सङ्क्रमण देखिनु पूर्वको कमजोरीको अवस्थाबाट अहिले उपचारका पूर्वाधार तथा क्षमतामा उल्लेखनीय प्रगति भएको प्रधानमन्त्रीको भनाइ छ । #तस्बिर : रोशन सापकोटा (रासस)