काठमाडौँ । नेपालमा शुक्रबार अहिलेसम्मकै बढी अर्थात् २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार शुक्रबार थप २०२० सहित ६१ हजार ५९३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा सात जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।
एकैदिन कोरोना संक्रमण निको भई ८७१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८२० पुगेको छ । जुन कुल संक्रमितको ७१.१४ प्रतिशत हो ।
काठमाडौँ उपत्यकामा थप ८५९ जनामा संक्रमित थपिएका छन् । काठमाडौँका ६९८, ललितपुरका ७९ र भक्तपुरका ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १४ हजार २७९ पुगेको छ । जसमा काठमाडौँमा कुल ११ हजार ९५५, ललितपुरमा १ हजार ५३९ र भक्तपुरमा १ हजार १५१ जना रहेका छन् ।
प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप ११ हजार ४५८ जनासहित हालसम्म ८ लाख ९४ हजार ३७३ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ७ हजार ८८३ जना क्वारेन्टाइनमा र १७ हजार ३८३ जना आइसोलेसनमा रहेका छन् ।
जसमा संस्थागत आइसोलेसनमा ९ हजार ३९५ जना र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् । जसमध्ये ३६ जनाको भेन्टिलेटरमा र १७३ जनाको आइसियूमा उपचार भइरहेको छ ।
प्रतिक्रिया